काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत महत्वपूर्ण योगदान गरिरहेको भन्दै उनीहरूलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
उनले पछिल्लो समय सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको उल्लेख गर्दै सरकारले बिस्तारै काम गरिरहेको दाबी गरे । सरकारले अझ राम्रो परिणाम दिने गरी काम अघि बढाइरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए ।
लामिछानेले सरकारले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए त्यसलाई रोक्न आफूहरू सक्षम रहेको उनको भनाइ थियो ।
उनले वर्तमान सरकार युवा लक्षित रहेको दाबी गर्दै युवाहरूलाई देशमै उद्यम, व्यवसाय तथा रोजगारी सिर्जना गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरे । युवाहरू विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उनले बताए ।
लामिछानेले देशको आर्थिक विकासमा निजी क्षेत्र र युवा उद्यमीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राज्यले उद्यमी तथा व्यवसायीलाई सहयोग, प्रोत्साहन र सम्मान गर्ने नीति लिनुपर्ने बताए ।
प्रतिक्रिया