काठमाडौं- दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
बिक्री केन्द्रको उद्घाटन गर्दै डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउन बिक्री केन्द्र विस्तार गर्दै लगिएको बताए ।
बिक्री केन्द्र विस्तारले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न तथा स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार नयाँ केन्द्रबाट उपभोक्ताले एउटै स्थानबाट डीडीसीका विभिन्न दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न सक्नेछन् ।
पाण्डेले बजारको आवश्यकता र उपभोक्ताको मागलाई ध्यानमा राख्दै आगामी दिनमा अन्य स्थानमा समेत बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
वनस्थलीमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै डीडीसीका आधिकारिक बिक्री केन्द्रको संख्या आठ पुगेको छ । संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको उत्पादनको बजार सुनिश्चित गर्ने तथा उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया