बहुराष्ट्रिय करदातासँगको छलफल

निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो : अर्थमन्त्री वाग्ले

सोमबार, २५ साउन २०८३, १४ : ०५

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको बताएका छन् ।

नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको छलफलमा बोल्दै वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताए ।

उनले आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रको एकीकृत प्रयास आवश्यक रहेको बताए । सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको साझेदारका रूपमा हेर्ने उनको भनाइ थियो ।

वैध लगानी र मुनाफाको सुरक्षा गर्ने जिम्मेवारी राज्यले लिने प्रतिबद्धता जनाउँदै वाग्लेले उद्यमीलाई थप लगानी, उद्योग विस्तार र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे ।

छलफलमा कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार र कानुनी प्रक्रियाका समस्याबारे व्यवसायीले सुझाव दिएका थिए । सरकारले आगामी ६ महिनाभित्र प्रमुख सुधारका क्षेत्र पहिचान गरी ठोस कार्ययोजनाका साथ अघि बढ्ने अर्थमन्त्री वाग्लेले बताए ।

सोमबार, २५ साउन २०८३, १४ : ०५

प्रतिक्रिया