भैरहवा- बालबालिका तथा सामाजिक सेवाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब अफ लुम्बिनी प्रदेशको लेफ्टिनेन्ट गभर्नर (अध्यक्ष) मा विमल पौड्याल र लेफ्टिनेन्ट गभर्नर इलेक्ट (प्रदेश उपाध्यक्ष) मा बंशीकुमार शर्मा सर्वसम्मत चयन भएका छन्।
भैरहवामा शनिबार सम्पन्न क्लबको प्रदेशस्तरीय सम्मेलनले पौड्याल र शर्मालाई सर्वसम्मत चयन गरेको हो। केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन संयोजक भरत ढुंगेलले अध्यक्षमा पौड्यालको उम्मेदवारी प्रस्ताव गरेका थिए भने किवानिज क्लब दाङका सुमित भुसालले समर्थन गरेपछि सम्मेलनले अनुमोदन गरेको थियो।
त्यस्तै, लेफ्टिनेन्ट गभर्नर इलेक्टमा शर्माको उम्मेदवारी किवानिज क्लब अफ लर्ड बुद्धका अध्यक्ष दामोदर बस्नेत ‘राकेश’ले प्रस्ताव गरेका थिए। वेष्ट अफ नेपालका विनोद शर्माले समर्थन गरेपछि सम्मेलनले शर्मालाई सर्वसम्मत अनुमोदन गरेको हो। नवनिर्वाचित अध्यक्ष पौड्याल र उपाध्यक्ष शर्माले किवानिज क्लब अफ लुम्बिनीलाई देशकै नमुना क्लबका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्लबका लुम्बिनी प्रदेश अध्यक्ष यमनमान श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्साल, केन्द्रीय उपाध्यक्ष रामहरि सुवेदी, कोषाध्यक्ष राजन न्यौपाने, केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका पूर्वअध्यक्ष सुरज पङ्गेनी र लर्ड बुद्धका डोरबहादुर जिसीलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै क्लबका मूल्य, मान्यता र उद्देश्यअनुसार सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउन सुझाव दिए।
क्लबका अन्य पदाधिकारी तथा सदस्य प्रदेशमा रहेका विभिन्न क्लबका पदाधिकारी र सदस्यबाट मनोनयन गर्ने व्यवस्था क्लबको विधानमा रहेको निवर्तमान अध्यक्ष श्रेष्ठले जानकारी दिए। लुम्बिनी प्रदेशमा गठन भएका १७ क्लबमध्ये मापदण्ड पूरा गरेका १४ क्लबका प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए।
किवानिज क्लबले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिका तथा आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आएको किवानिज क्लब अफ लर्ड बुद्धकी उपाध्यक्ष सुशीला शाहले बताइन्।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोहन लम्सालले किवानिज क्लबले स्थापनाकालदेखि नै सामाजिक सेवा र मानवीय कार्यलाई प्राथमिकतामा राख्दै समुदायमा सकारात्मक योगदान पु¥याउँदै आएको बताए। उनले आगामी दिनमा स्वास्थ्य, शिक्षा तथा विपन्न र असहाय नागरिकको सहयोगलगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
विशिष्ट अतिथि रामहरि सुवेदीले छोटो समयमै क्लबले सामाजिक सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए। सेवाभाव, आपसी एकता र सहकार्यलाई संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले थप नयाँ सोच, योजना र ऊर्जाका साथ समुदायमुखी कार्यक्रम अघि बढाउनुपर्ने बताए।
कार्यक्रममा यमनमान श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने समारोहको सञ्चालन रुपन्देही क्लबका सचिवले गरेका थिए।
प्रतिक्रिया