काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतहरुलाई सामुहिक मात्र भेट्ने भनि गरेको प्रतिवद्धता आफै तोडेका छन् । उनको प्रतिवद्धतालाई प्रारम्भमा सकारात्मक टिप्पणी पनि गरियो । तर त्यसले राज्य सञ्चालनमा कुनै विशेष अर्थ राख्दैनथ्यो । राज्य चलाउनु कुनै व्यक्तिको एकल लहड होइन भन्ने बिस्तारै महशुस हुन थालेको छ । सम्भवतः त्यस्तै अडानका कारण उनको विश्व समुदायसँग कुटनीतिक सम्बन्ध कमजोर हुँदै गयो । छिमेकी चीन र भारतसँग टाढिंदै गएको सम्बन्धले प्रधानमन्त्रीमा चिन्ता थपिंदै गएको थियो । त्यही चिन्तालाई दूर गर्न उनले साढे चार महिनाको कूटनीतिक अडान त्याग्दै सोमबारदेखि विदेशी राजदूतहरूसँगको प्रत्यक्ष भेटवार्ता पुनः सुरु गरेका छन्।
प्रधानमन्त्रीले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग सिंहदरबारमा द्विपक्षीय हित र आपसी साझेदारीका विषयमा छलफल गरे। यसलाई कूटनीतिक मामिला जानकारहरूले छिमेकी राष्ट्रसँगको विश्वास बढाउन र बदलिँदो परिस्थितिमा संवाद स्थापना गर्न प्रधानमन्त्रीको यो कदम महत्त्वपूर्ण रहेको टिप्पणी गरेका छन्।
साढे ४ महिना अघि प्रधानमन्त्री बनेपछि बालेन शाहले कूटनीतिक प्रोटोकललाई कडाईसाथ पालना गर्ने नीति लिए । त्यही नीतिका कारण उनले कुनै पनि कूटनीतिक अधिकारीलाई भेट्ने र सम्पूर्ण भेटघाट परराष्ट्र मन्त्रालयबाट मात्र गर्न थाले ।
विगतका प्रधानमन्त्रीहरूका कार्यालय र निवासमा समेत बिना रोकतोक सहज पहुँच पाउँदै आएका नेपालका कूटनीतिक अधिकारी बालेनको यो नीतिले केही दूरी बढेको महसुस गरिरहेका थिए । यता नेपालका हकमा भने विगतका विकृतिमा केही लगाम लाग्न लागेको टिप्पणी पनि भइरहेको थियो ।
आजको विश्व पारस्परिक सहयोग र सहकार्यमा चलेको छ । नेपाल जस्तो सानो र परनिर्भर मुलुकले डोनाल्ड ट्रम्पले लिने जस्तो अडान लिनु सजिलो थिएन । ट्रम्पलाई पनि अरुको साथ र सहयोग चाहिन्छ भने बालेन्द्रलाई बाहिरी सहयोगको जरुरत नहुने कुरा भएन । आत्मरतिले मात्र देश चल्दैन भन्ने नयाँ भन्नेहरुलाई बुझ्न अलि समय लागेको मात्र हो । त्यसैले पनि प्रधानमन्त्रीको यो प्रोटोकलको अडान साढे चार महिना भन्दा लामो गएन । किनकी नेपाल सानो र आर्थिक रुपमा विदेशी सहायतामा निर्भर रहने मुलुक भएकाले प्रधानमन्त्रीकै तहका कूटनीतिक भेटघाटको अर्थ रहने भन्दै कुरा उठ्न थालेपछि प्रधानमन्त्रीले सोमबारबाट आफूले पनि छुट्टै भेट्न थालेका छन् । भेटघाटको पहिलो प्राथिमकतामा उनले छिमेकी मुलुकलाई दिएका छन् । सोमबार सुरूमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहरदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटे । त्यसपछि उनले दिउँसो चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग भेटेका हुन् । उनको यो कुटनीतिक भेटघाटले अब निरन्तरता पाउने देखिन्छ । दुवै राजदुतहरुसँगको भेटमा उनले परराष्ट्रका अधिकारीहरूलाई पनि सँगै राखेका थिए ।
राजदूत माओमिङले पनि प्रधानमन्त्रीसँगको भेटबारे उल्लेख गर्दै हामीले मैत्रीपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध तथा व्यावहारिक सहकार्यका विषयहरू, साथै साझा चासोका विषयमा विचार आदानप्रदान गरेको बताएका छन् । ‘नेपाल र चीनका जनतालाई थप लाभ पुर्याउने तथा दुवै पक्षका लागि हितकारी सहकार्यलाई अझ गहिरो बनाउने विषयमा हामी सहमत भयौं’ राजदूत माओमिङले भनेका छन् ।
साढे चार महिनापछि आफ्नै अडानबाट पछि हटेर प्रधानमन्त्रीले राजदूत भेट्नेतर्फ लाग्नुको पछि केही कूटनीतिक व्यवहार बदल्न खोजेको संकेतको रुपमा बुझ्न सकिने कूटनीतिक वृत्तमा चर्चा छ ।
‘सरकारले आन्तरिक रुपमा पनि केही विश्वास गुमाउने थालेको अवस्थामा छिमेकी र विदेशी मुलुकहरूसँग पनि विश्वास गुम्यो भने राम्रो हुन्न भन्ने महसुस भएजस्तो देखिन्छ । त्यसैले यतिबेला राजदूतहरूलाई भेट्नुको विशेष अर्थ छ । अहिले नेपालको छिमेकी र विदेशीहरूसँग धेरै विषयमा निर्भर छ । त्यसैले उनीहरूले दूरी बढेको महसुस गर्दा त्यसले समग्र अवस्थामा असर पर्छ । त्यसैले कूटनीतिक मर्यादाभित्रै बसेर बेलाबखत भेट्ने र विश्वास बढाउने कुरा स्वभाविक पनि हो । अहिले नेपाल भू राजनीतिक दाउपेचको चक्रमा पनि फसेको छ । नजिकका दुई छिमेकीहरुसँगको सम्बन्धमा दरार आइरहेको अनुभूति सबैतिर भएको छ । नेपालमा दलाइ लामाको गतिबिधि बढेको चर्चा हुनु र भारतीय संस्थापनले पनि विश्वास नगरेको अवस्थालाई कसरी सन्तुलन मिलाउने सरकारको टाउको दुखाईको विषय बनेको थियो । त्यसको सम्बोधनको रुपमा यो कुटनीतिक भेटलाई बुझ्नुपर्दछ ।
प्रोटोकल नमिल्नेसँग नभेट्ने उनको अडानका कारण अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण–मध्य एसियाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले शाहलाई नभेटी फर्केका थिए । उनीहरूको भेटका लागि अमेरिकी दूतावासले कोसिस गरेको थियो । तर प्रधानमन्त्रीले भेटेका थिएनन् । यता भारतका विदेश सचिव विक्रम मिश्री समेत नेपाल आउने चर्चा थियो । तर प्रधानमन्त्रीसँगको भेटको निश्चित नभएपछि उनको भ्रमण नै भएन । यो बीचमा प्रधानमन्त्रीको भारत भ्रमणको विषय पनि कूटनीतिक बृत्तमा चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई पद बहाल गरे लगत्तै निम्ता दिएका थिए । त्यही निम्तो पनि औपचारिक रुपमा हस्तान्तरण गर्दै भ्रमणको तयारी गर्नेगरी मिश्री आउने चर्चा थियो । तर प्रधानमन्त्रीलाई भेट्न नपाउने भएपपछि उनी आएनन् । त्यही कारण केही चिसोपन आएको चर्चा छ । त्यसलाई सुधार गर्नका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले असारको अन्त्यमा सुटुक्क भारत पुगेर त्यहाँका अधिकारीहरूलाई भेटेको कुरा बाहिर आएपछि प्रधानमन्त्री शाह कुनै न कुनै रुपमा छिमेकीहरूसँगको विश्वास बढाउने कोसिसमा देखिन्छन् ।
पहिले सामुहिक रुपमा मात्र भेट्ने अडान लिंदा धेरै कुरा बिग्रिएको महशुस भएर नै अहिलेको भेटघाट सुरु भएको बताइएको छ । त्यसैले एउटा प्रधानमन्त्रीको रुपमा विश्व समुदायसामु प्रस्तुत हुनु त्यति सजिलो छैन भन्ने यथार्थ ढिलै भए पनि बालेनले बुझेको देखियो । जुन स्वभाविक पनि छ ।
‘
प्रतिक्रिया