सातबुँदे सहमति

देवानगञ्ज घटनापछि सरकार र मृतक परिवारबीच सातबुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्न सरकार सहमत

मंगलबार, २६ साउन २०८३, ११ : ४५

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

सहमतिको पहिलो बुँदामा साउन १० गते राति देवानगञ्ज–३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही अघि बढाउने उल्लेख छ।

त्यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ।

सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाबारे गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनअनुसार कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ।

त्यसैगरी, मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने र दाहसंस्कारको व्यवस्था गर्ने सहमति भएको छ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा चालु वर्षमै बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

मंगलबार, २६ साउन २०८३, ११ : ४५

प्रतिक्रिया