नाफा बढ्दा प्रतिफलमा दबाब

नागरिक लगानी कोषको नाफा १ अर्ब ३५ करोड नाघ्यो तर लगानी प्रतिफलमा भने गिरावट

विहीबार, २८ साउन २०८३, ११ : ५८

काठमाडौं- नागरिक लगानी कोषले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ७.७२ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ पुर्‍याएको छ। कोषले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा वृद्धि भएको हो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ७.२८ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानीमा सेवा शुल्क तथा कमिसनबाट १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानीबाट ३६ करोड ४७ लाख रुपैयाँ योगदान रहेको छ।

कोषको खुद कोष मौज्दात बढेर ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, विभिन्न क्षेत्रमा गरिएको कुल लगानी ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। वित्तीय विवरणअनुसार कोषको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ।

यद्यपि, बजारमा अधिक तरलताका कारण मुद्दती निक्षेपको ब्याजदर घट्दा कोषको लगानी प्रतिफलमा भने कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा ५.६८ प्रतिशत रहेको लगानी प्रतिफल समीक्षा अवधिमा घटेर ४.२७ प्रतिशतमा झरेको छ।

विहीबार, २८ साउन २०८३, ११ : ५८

प्रतिक्रिया