राजनीति

म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु : शेरबहादुर देउवा

विहीबार, २८ साउन २०८३, १३ : ५०

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै विशेष सन्देश जारी गरेका छन्। बिहीबार काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा देउवाले स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै देशको वर्तमान राजनीति, कांग्रेसको आन्तरिक अवस्था र आगामी राजनीतिक मार्गचित्रबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

लामो उपचारपछि स्वदेश फर्किँदा आफूलाई गहिरो भावनात्मक अनुभूति भएको उल्लेख गर्दै देउवाले आफू अहिले ‘विनम्र सेवक’का रूपमा उपस्थित भएको बताएका छन्। उनले आफू सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको उल्लेख गरेका छन्।

सन्देशमा देउवाले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गर्दै २००७ सालदेखि भएका राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताएका छन्। उनले बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई स्मरण गरेका छन्। कांग्रेस केवल सत्ता प्राप्तिको माध्यम नभई जनताको विश्वासको प्रतीक भएको उनको भनाइ छ।

देउवाले युवा पुस्ताको आकांक्षा र परिवर्तनको मागलाई आफूले आत्मसात् गरेको बताएका छन्। युवा पुस्ताको ‘मौन पीडा र प्रखर आवाज’ दुवै आफूले सुनेको उल्लेख गर्दै उनले बदलिँदो विश्व र समयको गतिसँगै अघि बढ्नुपर्ने बताएका छन्। समाजका सबै वर्ग र समुदायको सार्थक सहभागिता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन्।

वर्तमान सरकारप्रति संकेत गर्दै देउवाले जनताको आकांक्षा पूरा गर्ने दिशामा अघि बढ्न सुझाव दिएका छन्। राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा अघि बढ्दा त्यसले सत्तासीन दल र मुलुक दुवैलाई हित नगर्ने उनको तर्क छ। नेपाली कांग्रेस परिवर्तनको व्यवस्थापनमा सहयोग गर्न तयार रहेको भन्दै उनले हरेक रूपान्तरण विवेक, पारदर्शिता र न्यायका आधारमा हुनुपर्नेमा जोड दिएका छन्।

पार्टीभित्र देखिएको निराशा र असमझदारी अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको देउवाले बताएका छन्। विगतको माओवादी सशस्त्र द्वन्द्व तथा पार्टीभित्रका पुराना विवाद समाधानमा आफूले हासिल गरेको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको भनाइ छ। उनले कांग्रेसका नेता–कार्यकर्तालाई निराश नहुन र पुनः एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक प्रसंग उल्लेख गर्दै देउवाले आफू पनि शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन्। उनले प्रतिशोधको राजनीति त्यागेर मेलमिलापको बाटो रोज्न सबैलाई आह्वान गरेका छन्।

आफ्नो राजनीतिक जीवनलाई खुला किताबका रूपमा प्रस्तुत गर्दै देउवाले आफू ‘नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको’ बताएका छन्।

773589524_1607018540793304_2575104245927607678_n

774060005_1607018547459970_4114680205105078875_n

विहीबार, २८ साउन २०८३, १३ : ५०

प्रतिक्रिया