समाचार टिप्पणी

आर्थिक अनियमितताको आरोपबारे लेखा समितिमा छलफल, किन आक्रोशित भए आइजीपी ?

विहीबार, २८ साउन २०८३, १५ : ४८

  काठमाडौँ - जेनजि आन्दोलनको क्रममा भएको त्राशदीपूर्ण घटना ब्यहोरेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा जुन रुपमा प्रस्तुत भए त्यसका पछाडिको कारण बैठकको समाचार हेर्ने जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ । उक्त बैठकमा उपस्थित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले देखाएको व्यवहारलाई सायदै कसैले मन परायो होला । एउटा सांसदको रुपमा उनले आफ्नै सरकारको मातहतमा काम गरिरहेका सुरक्षा निकायका प्रमुखहरुमाथि लगाएको आरोप घृणित र कपोलकल्पित जस्तै थियो । जसप्रति आईजीपी कार्कीले कडा शब्दमा आक्रोश पोखेका थिए ।

सांसद सुनारले प्रहरीको पोसाक तथा लाठी खरिदमा अनियमितता गरेको, आईजीपी कार्कीको निजी घरमा भएको चोरीको घटनामा संलग्नलाई यातना दिएकोलगायत गम्भीर आरोप लगाएपछि आईजीपी कार्की संयम गुमाउँदै आक्रोशित बनेका थिए ।

आफूमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आईजीपी कार्कीले संसदीय समितिमै प्रश्न गरे, “हामी कस्ता मानिसबाट शासित भएका छौँ ? सेमिङ, ब्लेमिङ, गेमिङ गर्न हामीलाई पनि आउँछ। यो धर्तीमा सबैभन्दा काम नलाग्ने मान्छे हामी नै रहेछौँ कि जस्तो लाग्यो। दूधले नुहाएका मान्छेको छेउमा बसियो कि जस्तो लाग्यो।”

प्रहरी सङ्गठनलाई निरन्तर प्रहार गर्ने मानसिकताप्रति टिप्पणी गर्दै उनले थपे, “प्रहरीलाई घिसार्छु भन्ने कुन किसिमको पाषाण युगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता लागिरहेछ। निष्ठापूर्वक काम गरिरहेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भनिएको छ। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि१”

सांसद सुनारप्रति व्यङ्ग्य गर्दै कार्कीले मञ्चमा बसेर गालीगलौज गर्न र क्रान्ति गर्नभन्दा काम गर्न निकै कठिन हुने अनुभव सुनाए । “हामी पनि प्रहरी मात्रै होइनौँ, देशका नागरिक पनि हौँ। प्रहरीको रूपमा त यो छुच्चो पेसा हो, यसमा सम्मानको अपेक्षा गर्नु नै भुल हुन्छ,” उनले भने ।

आईजीपी कार्कीले गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा जलेका प्रहरी चौकी र सवारी साधनको बिजोग अवस्थाबारे समितिलाई जानकारी गराए। सीमित साधन(स्रोत र चरम अभावका बिच पनि प्रहरीले अहोरात्र खटिएर दायित्व पूरा गरिरहेको उनले दाबी गरे ।

“५९३ वटा सवारी साधन जलेको यो मुलुकमा चुनाव हुनु २० दिनअघि दाताले दिएका गाडी पाएर चुनाव गराइएको हो । त्यो छ महिनासम्म प्रहरीले कसरी गस्ती गरेर शान्ति सुरक्षाको प्रत्याभूति दियो भनेर त कसैले सोधेन,” उनले आक्रोश पोखे, “अहिले पनि देशका १३ सय प्रहरी चौकीको आफ्नै भवन छैन, सवारी साधन छैन। प्रश्न सोध्ने माननीयज्यूहरूलाई मेरो प्रश्न छ( जग्गा नभएका र गाडी नभएका प्रहरी चौकीलाई ती साधन जुटाउनेबारे एक दिन संसद्‌मा बहस गरौँ।”

सांसद सुनार यस अघि पनि पटक पटक विवादमा आएका व्यक्ति हुन । उनी सांसद भए पनि आफूलाई अभियन्ताकै रुपमा प्रस्तुत गरिरहेका छन् । उनी र उनको जस्तै स्वभाव र आनीबानी भएका सांसदहरुलाई लक्षित गर्दै सभापति रवी लामिछानेले सांसदको गरिमा र इज्जत धान्न नसक्नेहरु राजीनामा दिएर अभियन्ताकै काम गर्न गए हुन्छ भन्ने निर्देशन दिएका थिए । सांसद भैसकेपछि पनि सुनारले सिन्धुलीमा एस्पीलाई घिसार्ने अभिव्यक्ति दिएका थिए । यसपटक भने उनलाई सार्वजनिक लेखा समितिकै बैठकमा आइजीपी कार्कीले थला पर्नेगरी जवाफ दिएका छन् । आइजीपीले एकदम ठीक गरे भन्ने सन्देश गएको छ भने सुनारको व्यापक आलोचना भएको छ । आरोप लाग्नु र आरोप प्रमाणित हुन अलग विषय हुन भन्ने सांसद सुनारलाई जानकारी नै नभएको देखिन्छ । आइजीपी कार्कीको स्वाभिमान जब आक्रोशमा व्यक्त भयो त्यसले मुलुकको ध्यानाकर्षण भएको अनुभूत भएको छ ।  उनले भने जस्तै नेपाल कस्ता शासकहरुबाट शाषित हुन बाध्य भएको रहेछ भन्ने बाहिरी दुनियाँले पनि जान्ने अवस्था आएको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो । सरकारका धेरै जसो काम कामकारबाहीहरु यस्तै पूर्वाग्रह र सत्ता उन्मादले गरिएका छन् । सुशासन र परिवर्तनको नाममा सत्तामा आएको दल रास्वपाको सरकार पुरानाहरु भन्दा पनि छिटै बदनाम हुने विश्लेषण भैरहेको छ । 

विहीबार, २८ साउन २०८३, १५ : ४८

प्रतिक्रिया