काठमाडौं- आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ । संघले स्थापनाको ५० वर्ष पुरा गरेको अवसर पारेर २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
स्वर्ण जयन्ती वर्षमा गरिने कार्यक्रमहरुको एक हिस्साको रुपमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा संघले उक्त लोगो अनावरण गरेको हो । भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकद्वय तारानाथ लुइँटेल र अनिल किराती, शाखा अधिकृत दिपकप्रसाद अधिकारी संघका पूर्वअध्यक्षहरु लोकमान्य गोल्छा, अशोकुमार अग्रवाल, सुनिल वंशल र विनोद सेठिया तथा वर्तमान अध्यक्ष शिवकुमार अग्रवालले संयुक्त रुपमा लोगो अनावरण गरेका हुन् ।
संघका सदस्य र भन्सार तथा वाणिज्य, आप७त्रगयतसर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुबीचको अन्तरक्रिया कार्यक्रममा आयात–निर्यात व्यापारका नीतिगत र प्रक्रियागत विषयसँग सम्बन्धित आयात–निर्यातकर्ता व्यवसायीको चासोका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी संघका सदस्यहरुले व्यवसायका क्रममा सामना गर्नुपरेका चुनौती तथा अप्ठ्याराहरुमा सम्बन्धित विभागका अधिकारीहरुको ध्यानाकर्षण गराउँदै व्यापार सहजीकरणका लागि गर्नुपर्ने सुधारबारे सुझाव प्रस्तुत गरेका थिए ।
दुवै विभागका अधिकारीहरुले व्यवसायीका जिज्ञासाको जवाफ दिँदै आफुहरुको जिम्मेवारी व्यापार सहजीकरण र सम्बन्धित कानुन कार्यान्वयन भएको स्मरण गराउँदै व्यवसायीले उठाएका वास्तविक चासोलाई सम्बोधन गरिने बताए । सरोकारवालाबीचको खुला छलफलले नीति निर्माण र कार्यान्वयन तहलाई व्यवसायीका कठिनाइसँग परिचित गराउने हुँदा यसले नीतिगत सुधारमा समेत योगदान गर्ने भन्दै उहाँहरुले आगामी दिनमा पनि यस किसिमका छलफल कार्यक्रम नियमित रुपमा आयोजना गर्न संघलाई सुझाए ।
प्रतिक्रिया