काठमाडौं- 'इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग' (IRGDD) तथा एम्बेसिडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय गौरीकुमारी यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा जनताकेन्द्रित आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय साझेदारी तथा ट्रयाक १.५ र ट्रयाक २ कूटनीतिक भूमिकामार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने विषयमा केन्द्रित भई छलफल भएको छ । यस क्रममा नेपालको निरन्तरको व्यापार घाटा सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय आर्थिक मञ्चहरूमा देशको उपस्थिति बलियो बनाउने रणनीतिका बारेमा विशेष कुराकानी भएको थियो ।
भेटका क्रममा राजदूत डा. पराजुली ढकालले IRGDD, एम्बेसिडर्स क्लब नेपाल र डिप्लोम्याट नेपाललाई विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ-संस्था, विज्ञ, व्यवसायी तथा लगानीकर्ताहरूसँग जोड्ने प्रभावकारी मञ्चका रूपमा विकास गरिँदै लगिएको बताए । उनले यसले नेपालको 'सफ्ट पावर', आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।
साथै, IRGDD ले तथ्यमा आधारित नीतिगत अनुसन्धान, रणनीतिक सुझाव र ट्रयाक १.५ कूटनीतिमार्फत सरकार, कूटनीतिज्ञ, शिक्षा क्षेत्र, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर नेपालको राष्ट्रिय आर्थिक हितमा योगदान पुर्याउन प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
उक्त भेटघाट कार्यक्रममा IRGDD का सह-संस्थापक बिमल ढकालका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
छलफलले नेपालको व्यापार, आर्थिक सञ्जाल, लगानी, अन्तर्राष्ट्रिय साझेदारी र समग्र आर्थिक हितलाई अगाडि बढाउन निरन्तर संवाद र सहकार्यको आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।
प्रतिक्रिया