काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसको तीन दिने राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवाले दीप प्रज्वलन गरी भेलाको उद्घाटन गरेका हुन्। पार्टीलाई आगामी दिनमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल गर्न भेला आयोजना गरिएको आयोजकले जनाएको छ।
तीन दिनसम्म चल्ने भेलामा कांग्रेसका संस्थापन तथा इतर पक्षका शीर्ष नेतादेखि केन्द्रीय सदस्य र देशभरबाट आएका कार्यकर्ताको सहभागिता रहेको छ।
भेला आयोजक समितिका संयोजक एवं वरिष्ठ नेता डा. शशांक कोइरालाको सभापतित्वमा भएको उद्घाटन समारोहमा पार्टीभित्रको आन्तरिक एकता, नीतिगत सुधार तथा आगामी राजनीतिक रणनीतिबारे प्रारम्भिक धारणा राखिएको थियो।
उद्घाटन समारोहमा देउवासहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डा. शेखर कोइराला, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायत नेताहरूको उपस्थिति थियो।
भेलामा समसामयिक राजनीतिक विषय, सांगठनिक सुधार तथा पार्टीको भावी कार्यदिशाबारे समूहगत छलफल र विभिन्न दस्तावेज प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
प्रतिक्रिया