काठमाडौँ - नेपालको राजनीतिमा भारतीय प्रभाव कतै न कतै देखिंदै आएको छ । इतिहासका विभिन्न कालखण्डमा यो प्रभाव कहिले कडा र कहिले नरम रुपमा देखिदै आएको छ । नेपालको राजनीतिमा दीर्घकालीन असर पर्ने १२ बुँदे सम्झौताको तयारी र हस्ताक्षर पनि दिल्लीमै भएको थियो । त्यसपछिका घटनाक्रमहरुमा पनि दक्षिणको चलखेल सामान्य रहेको छैन । हिन्दुत्वको नारा भजाएर सत्तामा कब्जा जमाएको दक्षिणपन्थी दल भारतीय जनता पार्टीको सरकार बनेपछि त्यसको बाछिटा नेपाल जस्तो देशमा पर्नु अस्वभाविक पनि होइन ।
जेनजी आन्दोलनको भुंग्रोमा परेर घाइते भएका पसवर्् प्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्के । तर उनको स्वदेश फिर्तिमा विभिन्न शक्तिकेन्द्रहरुको भूमिका रहेको विश्लेषण हुन थालेको छ । रेडकर्नर नोटिस जारी गरेर पक्राउ गरी ल्याउने तयारीमा रहेको सरकारकै अगाडि उनलाई जयजयकार गरेर स्वागत गरियो । सरकारको धारणा के हो ? सरकार पनि उनको आगमनमा सकारात्मक भएको हो ? देउवा आउँदा विजयी भावमा प्रस्तुत भए । अर्को महत्वपूर्ण कुरा त आफै सहभागी भएर बनाएको संविधानको बर्खिलाप गर्न समेत उनी अग्रसर भए । आफू पक्षीय राष्ट्रिय भेलामा हिन्दु धर्मको एजेण्डालाई अन्तिम समयमा थपेर पाँचबुँदे घोषणापत्रमार्फत पारित समेत गराए । उनले आफू हिन्दु भएको कुरा जोशिएर भने । यो सामान्य विषय थिएन । उनी हन्दिु होइनन् भन्ने कसले दाबी गरेको थियो र ? भेलाका लागि तयार पारिएको २० बुँदेमा यस्तो विषय समावेश थिएन । तर उक्त २० बुँदे प्रस्ताव हलमा प्रस्तुत नगरी देउवाको निर्देशनमा छुट्टै पाँचबुँदे घोषणापत्र तयार पारेर पढिएको एक नेताले बताए ।
सम्मेलनका लागि तयार पारिएको २० बुँदे निष्कर्षको १६औँ बुँदामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक उल्लेख थियो । सबै धर्म–सम्प्रदायलाई आफ्नो धर्म र संस्कृतिको पालना तथा संरक्षण गर्ने स्वतन्त्रता सुनिश्चित गर्ने विषय मात्र राखिएको थियो । सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने वा हिन्दु राष्ट्रको राजनीतिक लाइन लिने विषय थिएन ।
नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पनि हिन्दु धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर राजनीतिक एजेन्डा बनाउने विषय थिएन । सम्मेलनको दोस्रो दिन तयार २०बुँदे निष्कर्षलाई नै आधार बनाएर अघि बढ्ने तयारी थियो ।
तर पूर्वसभापति शेरबहादुर देउवाले प्रस्ताव अध्ययन गरेपछि अन्तिम समयमा फरक पाँचबुँदे घोषणापत्र तयार पारिएको हो । त्यसमा ‘नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचान पनि हो’ भन्ने विषय राखियो । ‘हिन्दु, बौद्ध, किराँत र प्रकृति धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ’ भनेर ५ बुँदेमा समेटिएको छ ।
यस प्रकरणको पछि विभिन्न राजनीतिक स्वार्थ लुकेको आँकलन गरिएको छ । देउवाले आफू सुरक्षित रहन यस्तो रणनीति अपनाएको पनि हुन सक्छ । सरकारले कथंकदाचित पक्राउ गरेर दुख दिन खोजे हिन्दु कार्डले संरक्षण गर्न सजिलो हुने देउवाको हिसाब हुन सक्छ । अर्को अझ महत्वपूर्ण कुरा भारतले बचाउ गर्न सक्ने पनि विश्लेषण गरिएको हुन सक्छ ।
प्रतिक्रिया