टिप्पणी

अदालतमा बैंकिङ कसुर र चेक अनादरका मुद्दाको चाप र अर्थतन्त्रमा त्यसको संकेत

विहीबार, ०४ भदौ २०८३, ०८ : २७

काठमाडौं - अर्थतन्त्रका बाहिरि सुचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्रको वास्तविक अवस्था भने कमजोर रहेको बताइनछ । अहिले देशैभरिका अदालतहरुमा बैंकिङ कसुर र चेक अनादरका मुद्दाको चाप बढेका समाचारहरु आइरहेका छन् । यसको सीधा अर्थ पछिल्लो समयमा देशको आन्तरिक अर्थतन्त्र कमजोर बन्दै गएको प्रस्ट संकेत देखिएको छ ।  अदालतमा पछिल्ला महिनामा चलेका बैंकिङ कसुर, चेक अनादर र लेनदेनका मुद्दाको चाप हेर्दा बैंकबाट ऋण लिएर व्यवसाय गर्ने व्यवसायीहरूले साँवाको त कुरै छाडौँ ब्याजसमेत तिर्न नसकेर हैरान भएको देखिएको छ । त्यस्तै, खातामा पर्याप्त पैसा नभई तिर्नुपर्ने व्यक्ति तथा व्यावसायिक फर्महरूलाई चेक दिएर झुक्याउनेको संख्या पनि त्यत्तिकै बढेर गएको छ । यसले व्यक्तिगत कारोबारको साथै बैंकिङ कारोबार गर्नेहरू धेरैका आर्थिक अवस्था कमजोर र जोखिमपूर्ण बन्दै गएको देखाएको हो ।

यस्ता मुद्धाहरुको चापकिन बढ्छ भन्ने बारे सम्बद्ध निकायहरुले गहीरो चिन्तन र विश्लेषण गर्न जरुरी छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्नेहरूको व्यवसाय राम्रोसँग नचलेको कारण समयमा ब्याज तथा साँवा रकम भुक्तानी गर्न नसकेपछि नै बैंकिङ कसुरको मुद्दा चल्न पुगेका छन् । बैंकले धितो बन्धक राखेका घर, जग्गा लिलामको सूचना धमाधम निकाल्न थालेको छ भने ऋणीहरूले पनि आफ्नो सम्पत्तिमा बैंकले आँखा लगायो भनेर अदालत गुहारेका छन् । यदि सबैको व्यवसाय राम्रोसँग चलेको थियो भने यस्ता लेनदेनका मुद्दा अदालतसम्म पुग्ने नै थिएन । यो अवस्था साना ठूला सबै व्यवसायीहरुले भौगद्ये आएका छन् । त्यसैको असरले नै उद्यमी तथा बैंकरहरु पक्राउ पर्न थालेका हुन । 

बैंकिङ कसुर बैंकिङ कारोबारसम्बन्धी मुद्दा हो भने चेक अनादर मुद्दा चेक कारोबारसँग सम्बन्धित हो । यी दुवै फौजदारी कसुरका मुद्दा हुन् । दुवैमा सजाय हुन्छ । साना व्यवसायीदेखि ठूला र नाम चलेका व्यवसायीहरूसम्म अहिले बैंकलाई सानोभन्दा सानो अंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको देखिएको छ । ठूला र नाम चलेको भनिएका व्यवसायीदेखि साना व्यवसायी पनि बैंकलाई तोकिएकै मितिमा, तोकिएबमोजिमको साँवा तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका कारण समग्र व्यवसायमा सुस्तता छाएको प्रस्ट हुन्छ । ऋण लिँदाको र अहिलेको अवस्थामा फरक देखिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

काठमाडौं जिल्ला अदालतमा मात्र बैंकिङ कसुर र चेक अनादरको मुद्दा हेर्ने हो भने देशको अर्थतन्त्र धेरै नै कमजोर बनिसकेको संकेत देखिन्छ । यदि व्यवसाय राम्रोसँग चलेको थियो भने बैंकसँगको तथा व्यक्तिसँगको व्यक्तिको कारोबारको अधिकांश विवाद अदालतसम्म आइपुग्ने नै थिएन । चेक अनादरको भन्दा पनि बैंकिङ कसुरको मुद्दाको चाप अदालतमा बढ्नाले व्यावसायिक कर्जा लिनेहरूको आर्थिक अवस्था अति नै कमजोर रहेको संकेत गर्छ । एउटा व्यवसायको सम्बन्ध अर्को व्यवसायसँग रहेको हुन्छ । जब एउटा व्यवसाय कमजोर हुन्छ क्रमशः अन्य व्यवसाय पनि कमजोर बन्छ न्। अहिले घरजग्गा, सेयर बजार, आन्तरिक तथा बाह्य व्यापार सबैैमा मन्दी र मूल्यवृद्धि छ । बैंकमा रकम थुप्रिएको छ भने कर्जा लिनेको संख्या नै छैन । यसले समग्र व्यावसायिक गतिविधि ठप्प छ भन्ने संकेत गर्छ ।

‘अध्ययनहरुले के देखाएका छन् भने सेयरबजारको मूल्य बढ्यो भने घरजग्गा र गाडीको खरिदबिक्री पनि बढेको हुन्छ । झण्डै पाँच वर्षदेखि सेयरबजार सुस्त छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले अन्य व्यवसाय पनि सुस्त हुँदा ऋण लिएर गाडी खरिद गर्ने, घर जग्गाको कारोबार, सेयरको कारोबार, आयात÷निर्यातको कारोबार गर्नेहरू अहिले चल्न सक्ने अवस्थामा छैनन् । अर्थतन्त्र चलायनमान हुन नसक्दा पनि बैंकले आफ्नो सावा तथा व्याज उठाउने कोसिस गर्छ । त्यही भएर अदालतमा बैंकिङ कसुर र चेक अनादरका मुद्दा बढेका हुन् । खासगरी गत वर्षको भदौ २३ र २४ गतेको आगजनी र तोडफोडपछि देशमा व्यावसायिक वातावरण बिग्रन जाँदा लगानीकर्ताहरू डराएका छन् । लगानीकर्तामा डर र त्रास नहटेको कारण झण्डै दुई तिहाई संख्याको सरकार भए पनि लगानी बढ्न सकेको छैन । आन्तरिक तथा बाह्य लगानी हुन नसक्दा भएका व्यवसायले पनि आम्दानी गर्न नसकेका हुन् । देशमा अहिलेसम्म पनि सरकारले व्यावसायिक वातावरण बनाउन सकेको छैन । त्यही कारण सबैतिर मन्दीको अवस्था छ ।
मुलुकमा सुशासन कायम गर्ने, लगानीको वातावरण बनाउने र व्यवसायिक सुरक्षाको प्रत्याभूति दिने काम सरकारको हो । बलियो र स्थिर सरकार बनेको अवस्थामा पनि लगानीकर्ताहरु ढुक्क हुन सकिरहेका छैनन् । सरकारले कतिपय क्षेत्रमा प्रतिशोध देखिने गरी काम गरिरहेका छ । सरकारले गरेका अधिकांश कारबाहीहरु अपरिपक्व र बिना तयारी गरेको देखिन्छ । निजी क्षेत्रलाई विश्वासमा लिएर व्यवसायिक सुरक्षाको अनुभूति दिन सक्नुपर्दछ ।  

विहीबार, ०४ भदौ २०८३, ०८ : २७

प्रतिक्रिया