काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ। खराब कर्जा व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको हो।
१६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०८२/८३ मा उनीहरूले कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आव २०८१/८२ मा विकास बैंकहरूको कुल खुद नाफा ५ अर्ब ६७ करोड रुपैयाँ थियो।
नेपालमा रहेका १७ विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भई नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेकाले उसको वित्तीय विवरण यसमा समावेश गरिएको छैन।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा गरिमा विकास बैंक रहेको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ। साइन रेसुङ्गा विकास बैंक र ज्योति विकास बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।
राष्ट्रियस्तरका आठ विकास बैंकले मात्रै ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। तर सबै विकास बैंकको वित्तीय अवस्था भने समान छैन। नारायणी विकास बैंक गत वर्ष ५ करोड ३७ लाख रुपैयाँ घाटामा गएको छ।
वितरणयोग्य नाफा भने ५ अर्ब ६७ करोड
विकास बैंकहरूको खुद नाफा ९ अर्ब ३३ करोड रुपैयाँ पुगे पनि वितरणयोग्य नाफा भने ५ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। उठाउन बाँकी ब्याजमा भएको वृद्धि, कर्जा जोखिम तथा गैरबैंकिङ सम्पत्तिसम्बन्धी जोखिमका लागि नियामकीय व्यवस्थाअनुसार थप रकम छुट्याउनुपरेकाले वितरणयोग्य नाफा कम देखिएको हो।
वितरणयोग्य नाफाका आधारमा पनि गरिमा विकास बैंक पहिलो स्थानमा छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ। मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाए पनि वितरणयोग्य नाफा भने ६७ करोड रुपैयाँ मात्रै छ। गत वर्ष कर्पोरेट, सालपा, सिन्धु र नारायणी विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ।
आर्थिक सुस्तताले चुनौती
विकास बैंकहरूले आर्थिक गतिविधिमा आएको सुस्तता, कर्जा नतिर्ने प्रवृत्तिका कारण कमजोर बनेको असुली तथा जेनजी आन्दोलनले वित्तीय अवस्थामा दबाब परेको उल्लेख गरेका छन्। राजनीतिक अस्थिरता र वित्तीय बजारमा बढ्दो प्रतिस्पर्धाले समेत बैंकहरूको सञ्चालनमा चुनौती थपिएको व्यवस्थापकीय विश्लेषणमा जनाइएको छ।
प्रतिक्रिया