काठमाडौं– भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपालको अग्रणी व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पदाधिकारीले सोमबार प्रदर्शनीस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले मंगलबारदेखि सुरु हुने १८औँ संस्करणको नाडा अटो शोको सबै तयारी पूरा भएको बताए। उनका अनुसार, मंगलबार महेन्द्र पुलिस क्लबमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नाडा अटो शो २०२६ को औपचारिक उद्घाटन गर्नेछन्।
नाडाका महासचिव मिलनबाबु श्रेष्ठले नाडा अटो शो सबैखाले सवारीसाधन तथा प्रविधिका पारखीका लागि उपयुक्त प्लेटफर्म बन्ने बताए। उनले प्रदर्शनीमा सहभागी भएर नवीनतम सवारीसाधन, प्रविधि तथा मोबिलिटीसम्बन्धी उत्पादनलाई प्रत्यक्ष अनुभव गर्न आम सर्वसाधारणलाई आग्रह गरे।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक अवस्थाको समग्र चित्र प्रस्तुत गर्ने आयोजकको भनाइ छ।
एचपी लुब्रिकेन्ट्सको शीर्ष प्रायोजन रहेको नाडा अटो शो २०२६ छ दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ सवारीसाधन, विद्युतीय सवारीसाधन, अटोमोबाइल प्रविधि तथा मोबिलिटीसम्बन्धी उत्पादनहरू प्रदर्शन गरिनेछन्।






प्रतिक्रिया