काठमाडौं– ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिर क्षेत्रमा यस वर्ष पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा आज बिहानैदेखि बंगलामुखी मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।
बिहानैदेखि विभिन्न स्थानबाट आएका भक्तजन मन्दिरमा पुगेर बंगलामुखी देवीको दर्शन तथा पूजाआजा गरिरहेका छन्। पर्वका अवसरमा मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको हो।
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ। आजै रक्षाबन्धन पनि विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ।
जनैपूर्णिमाका दिन हिन्दु धर्मावलम्बीले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने गर्छन्। आत्मशुद्धि तथा शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।


























प्रतिक्रिया