काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।
गत २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट उक्त रकम संकलन गरिएको हो।
भदौ २२ गते आयोजित एक कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कर्मचारीहरूको तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी छिन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य एवं कर्मचारी प्रतिनिधि लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो।
नेपाल टेलिकमका अनुसार कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उक्त सहयोग कोषमा जम्मा गरिएको हो। विपद्को समयमा कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग गर्दै आएको र यसपटक पनि सामूहिक योगदानमार्फत राहतमा हातेमालो गरिएको कम्पनीले जनाएको छ।
यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूले आर्थिक सहयोग गर्दै आएका थिए।
कम्पनीले कर्मचारीहरूको सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म भए पनि योगदान पुग्ने अपेक्षा गरेको छ।
नेपाल टेलिकमले संस्थागत रूपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम उपलब्ध गराउने जनाएको छ। साथै विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
प्रतिक्रिया