काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोच र प्रविधिको प्रयोग गर्दै आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको अन्तरक्रियामा उनले युवा पुस्ताका अपेक्षा र प्राथमिकतासँग जोडिएका विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री शाहले स्थलगत अध्ययन, अनुसन्धान र समस्या समाधानमुखी सोचलाई प्राथमिकता दिन सांसदहरूलाई सुझाव दिएका छन्। उनले पुराना र अव्यावहारिक सोच त्याग्दै नवीन प्रविधिको प्रयोगबाट रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
त्यस्तै, राजनीतिलाई मात्र पेशा नबनाई छुट्टै व्यवसायिक आम्दानीको आधार खडा गरेर आत्मनिर्भर बन्न पनि उनले सांसदहरूलाई आग्रह गरेका छन्।
अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सांसदहरूले प्रधानमन्त्रीका सुझावलाई मार्गदर्शनका रूपमा लिँदै स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएको जनाइएको छ।
प्रतिक्रिया