सीई कन्ट्रक्सन

सीई कन्ट्रक्सनको बदमासी : घर किन्नेले लालपुर्जा पाएनन्, उल्टै बैंकले थाल्यो लिलामी

५३ करोडभन्दा बढी भ्याट समेत बक्यौता

आइतबार, ०४ असोज २०८३, १२ : १५

काठमाडौं– ललितपुरको हात्तीवनमा निर्माण गरिएको हाउजिङका घर खरिदकर्ताले पूर्ण रकम भुक्तानी गरिसक्दा पनि घरजग्गा आफ्नो नाममा नामसारी नगरिदिएको आरोप लगाउँदै सीई कन्ट्रक्सन प्रालि र यसका सञ्चालकविरुद्ध विभिन्न ८ सरकारी निकायमा उजुरी दिएका छन्।

पीडितहरूले प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सरकार, अर्थ मन्त्रालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोमा लिखित उजुरी दिएका हुन्।

उजुरीमा सीई कन्ट्रक्सनका अध्यक्ष विजयबहादुर राजभण्डारी तथा सञ्चालक श्याम श्रेष्ठ र गोपाल मानन्धरले घरको सम्पूर्ण रकम भुक्तानी लिइसकेपछि पनि खरिदकर्ताको नाममा जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) पास नगरेको आरोप लगाइएको छ।

पीडितहरूका अनुसार घर खरिद गरेको करिब सात वर्ष बितिसक्दा पनि उनीहरूको नाममा घरजग्गा नामसारी भएको छैन। उल्टै आफूहरूले खरिद गरेको घर तथा जग्गालाई बैंकमा धितो राखेर ऋण लिएको र अहिले बैंकले लिलामीको सूचना प्रकाशित गरेपछि आफूहरू जीवनभरको कमाइबाट खरिद गरेको घर गुमाउने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।

उजुरीमा खरिदकर्ताको जानकारीबिना एउटै घरजग्गालाई दुईवटा बैंकमा रोक्का तथा धितो राखिएको दाबी गरिएको छ। एक बैंकमा रहेको परियोजनाको ऋण चुक्ता हुँदै गएपछि सम्बन्धित घरयुनिट खरिदकर्ताको नाममा पास गर्नुपर्नेमा पुनः अर्को बैंकमा धितो राखिएको आरोप पीडितहरूले लगाएका छन्।

एक पीडितले आफू करिब सात वर्षदेखि खरिद गरेको घरमै बस्दै आए पनि हालसम्म नामसारी हुन नसकेको बताए। उनका अनुसार घरको सम्पूर्ण रकम भुक्तानी गरेपछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्ने अपेक्षा भए पनि कम्पनीले विभिन्न बहाना बनाउँदै प्रक्रिया अघि नबढाएको हो।

पीडितहरूले कम्पनी र सम्बन्धित बैंकबीचको कारोबार तथा दोहोरो धितोसम्बन्धी विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। साथै, आफूहरूले रकम भुक्तानी गरिसकेको घरजग्गा लिलामीबाट जोगाई खरिदकर्ताको नाममा स्वामित्व हस्तान्तरण गराउन समेत माग गरिएको छ। सीई कन्ट्रक्सनमाथि ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) बक्यौता रहेको विषयसमेत उजुरीमा उठाइएको छ।

आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले कम्पनीलाई पठाएको पत्रअनुसार सीई कन्ट्रक्सनले ५३ करोड १६ लाख ७५ हजार ६३९ रुपैयाँ भ्याट तिर्न बाँकी रहेको उल्लेख छ। उक्त रकम २०८० माघ मसान्तसम्मको ब्याज तथा शुल्कसहितको बक्यौता भएको जनाइएको छ।उक्त करसम्बन्धी विषयसमेत अनुसन्धानको दायरामा ल्याउन पीडितहरूले सम्बन्धित सरकारी निकायसँग माग गरेका छन्।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विषयमा अनुसन्धान अघि बढाएको बताइएको छ। अख्तियारका एक पदाधिकारीले उजुरी प्राप्त भएको र विषयलाई सूक्ष्म रूपमा अध्ययन तथा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

यस विषयमा सीई कन्ट्रक्सनका अध्यक्ष विजयबहादुर राजभण्डारीसँग प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिए पनि उनी सम्पर्कमा नआएको र फोनसमेत बन्द रहेको जनाइएको छ।

इन्जिनियर विजय राजभण्डारी, गोपाल मानन्धर र श्याम मिलन श्रेष्ठले स्थापना गरेको सीई कन्ट्रक्सन निर्माण क्षेत्रमा परिचित कम्पनीका रूपमा रहँदै आएको छ। कम्पनीले हाउजिङसँगै जलविद्युत्, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रमा समेत लगानी गरेको छ। पछिल्लो समय भने कम्पनीमाथि हाउजिङका घर खरिदकर्ताको स्वामित्व हस्तान्तरण नगरेको तथा कर बक्यौतासम्बन्धी आरोप उठेको हो।

whatsapp-image-2026-08-06-at-17.00.43_MD80URM2ve

आइतबार, ०४ असोज २०८३, १२ : १५

प्रतिक्रिया