काठमाडौं - बाहिरबाट हेर्दा बलियो देखिए पनि अमेरिकी अर्थतन्त्र भित्रभित्रै खा्ेक्रो भएको अमेरिकी व्यवसायीहरूले नै बताउन थालेका छन् । व्यवसायीहरुले अहिलेको व्यापारिक वातावरणलाई कोभिड महामारीको समयभन्दा पनि कठिन भएको बताएका छन् ।
अहिलेको अवस्था कोभिडको भन्दा बढी लागत, अवरोध र अनिश्चिततासहितको छ, जसले व्यवसायीहरूलाई योजना बनाउन कठिन बनाएको छ ।
अमेरिकी व्यवसायीहरू अहिले यस्तो अवस्थाबाट गुज्रिरहेका छन्, जसलाई केहीले कोभिड महामारीको समयभन्दा पनि कठिन बताइरहेका छन् । नर्थ क्यारोलिनाको रालेमा रहेको डिलवर्थ कफीका प्रमुख कार्यकारी जेफ भोयटाले सन् २०२४ मा ब्राजिलमा कफी उत्पादन कमजोर भएपछि उत्पन्न सङ्कट सामना गरे ।
त्यसले कफीको मूल्यलाई कीर्तिमानी उचाइमा पुर्याएको थियो । त्यसको अर्को वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी भन्सार शुल्कले कफीको मूल्य अझ बढायो ।
कोभिडले सुस्ताएको अर्थतन्त्रमा इरान युद्धको गहीरो असर परेको छ । त्यसमाथि ‘सुपर एल निनो’ ले पनि समस्या थपेको छ । ‘ढुवानीमा अवरोध, कन्टेनरको अभाव, लाल सागरमा भइरहेको घटनाका कारण बढेको लागत र मलको महँगो मूल्यका कारण हामीले यसअघि कहिल्यै नदेखेको स्तरको अवरोध सामना गरिरहेका छौँ,’ तीन दशकभन्दा बढी समयअघि राष्ट्रिय कफी वितरण कम्पनी स्थापना गरेका भोयटाले भन्छन्, ‘अनिश्चितता धेरै छ ।’
अमेरिकाभर विभिन्न क्षेत्रमा काम गर्ने व्यवसायीहरूले पनि यस्तै अवस्था भोगिरहेको बताएका छन् । इन्स्टिच्युट फर सप्लाइ म्यानेजमेन्ट (आईएसएम) को मासिक सर्वेक्षणमा केही व्यवसायीले अहिलेको व्यापारिक वातावरणलाई कोभिड महामारीको समयसँग तुलना गरेका थिए । उनीहरूका अनुसार, अहिलेको अवस्था कोभिडभन्दा पनि खराब छ ।
डेनभर विश्वविद्यालयको आपूर्ति शृङ्खला कार्यक्रमका निर्देशक ज्याक बफिङ्टनले अहिलेको समस्या कोभिडभन्दा ठुलो भएको बताए । उनका अनुसार यो सामान्य आपूर्ति शृङ्खलाको समस्या नभई ऊर्जासम्बन्धी समस्या हो ।
अहिलेसम्म पनि महंगी रोकिने कुनै संकेत देखिएको छैन । व्यवसायीहरु मह.गी कहिले राकिएला भनेर चिन्तित छन् । यसैबीच राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य भएपछि तेलको मूल्य तीव्र रूपमा घट्ने बताएका छन् । उनका अनुसार युद्ध समाधान भएपछि अवस्था छिट्टै सामान्य हुन सक्छ । यसको केही आधार पनि छ । जुनको मध्यतिर अमेरिका र इरानबिच समझदारी भएपछि स्ट्रेट अफ होर्मुज केही समयका लागि खुलेको थियो । त्यसपछि अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलरभन्दा तल झरेको थियो भने तेलको मूल्य युद्धअघिको स्तरभन्दा पनि तल पुगेको थियो । इन्धन र ढुवानीको उच्च लागत अर्थतन्त्रका अन्य क्षेत्रमा समेत फैलिएको छ । खाद्यान्न र ऊर्जाको मूल्यलाई अलग राखेर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि पछिल्लो महिनामा अप्रिलयताकै उच्च दरले बढेको छ ।
त्यसको असर सेवाको मूल्यमा पनि देखिन थालेको छ । सामान्यतया एकपटक बढेको सेवाको मूल्य फेरि घटाउन कठिन हुन्छ ।
यतिबेला विश्व अर्थतन्त्रमै मध्यपूर्व युद्धको प्रभाव परिरहेको छ । जसको कारण विश्व बजारमै अभाव र महंगी बढेको छ । पश्चिम एसियामा जारी युद्ध र युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथि गरिरहेको निरन्तर आक्रमणका कारण मार्चयता डिजेलको मूल्य दोब्बर भएको छ ।
ढुवानी लागतमा मौसमसम्बन्धी अवरोधले पनि वृद्धि गरेको छ । विश्वकै ठुलो कन्टेनर बन्दरगाह मानिने सांघाई बन्दरगाहमा लगातार आएका दुई वटा आँधीका कारण दुई सातासम्म काम प्रभावित भएको थियो । त्यसको असर अझै ढुवानीमा देखिएको छ । इरान युद्ध अन्त्य भए पनि रुसको डिजेल निर्यात प्रतिबन्ध हट्ने छैन । उक्त प्रतिबन्धले विश्वको समुद्री मार्गबाट हुने डिजेल आपूर्तिको करिब १२ प्रतिशत हिस्सा प्रभावित गरेको छ ।
त्यस्तै, लाल सागरमा इरानसमर्थित हुथी विद्रोहीको पुनः सक्रियता र अदनको खाडीमा सोमाली समुद्री डाकुको गतिविधिले पनि ढुवानीलाई प्रभावित गरिरहेको छ । आक्रमणबाट बच्न धेरै जहाजले अफ्रिकी महादेशको पूरा फन्को मारेर यात्रा गर्नुपरेको छ । यसले यस वर्ष विश्वव्यापी ढुवानी क्षमतामा करिब १५ प्रतिशत कमी ल्याएको फ्लेक्सपोर्टका प्रमुख कार्यकारी रायन पिटर्सनले बताए । ‘म २५ वर्षदेखि लजिस्टिक्स क्षेत्रमा छु । यस्तो खराब अवस्था कहिल्यै देखेको छैन,’ उनले भने ।
डोरी, कर्ड र पट्टा उत्पादन गर्ने कम्पनी राभेनक्सका प्रमुख कार्यकारी सीन ब्राउनलीका अनुसार व्यवसायीहरू अहिले अत्यधिक दबाबमा छन् । ‘साना व्यवसायीहरूले अन्तिम समयसम्म सकेसम्म धेरै लागत आफैँ बेहोर्छन्, तर अहिले हामीमाथि प्रत्यक्ष र तीव्र दबाब परेको छ,’ उनले भने ।
अमेरिकी रोजगारीलाई सहयोग गर्ने उद्देश्यले देशमै उत्पादन गर्ने कम्पनी स्थापना गरेका ब्राउनलीका लागि अहिलेको अप्रत्याशित वातावरण चुनौती बनेको छ ।
‘यो विषयले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ । हामीलाई केवल पूर्वानुमान गर्न सकिने स्थिर वातावरण चाहिएको हो,’ उनले भने ।
आईएसएमको सर्वेक्षणमा एक व्यवसायीले अहिलेको आपूर्ति शृङ्खलाको अवस्थालाई ‘कोभिडको समय र त्यसपछिको अवस्थाभन्दा पनि ठुलो र जटिल सङ्कट’ भनेका थिए । सन् २०२० मा कन्टेनर जहाजहरू बन्दरगाहमा प्रवेश गर्न हप्तौँसम्म पर्खिन्थे । पसलहरूमा ट्वाइलेट पेपर, मास्क र ह्यान्ड स्यानिटाइजरको अभाव भएको थियो । आपूर्ति शृङ्खला लगभग ठप्प बनेपछि बिस्तारै पुनः सञ्चालनमा आएको थियो ।
तर अहिलेको समस्या फरक छ । अहिले ढुवानी कहिले सुरु हुन्छ, कहिले रोकिन्छ, कहिले सुधार हुन्छ र फेरि बिग्रन्छ । मूल्य पनि कहिले बढ्छ, कहिले घट्छ र फेरि तीव्र रूपमा बढ्छ । अहिले आपूर्ति शृङ्खला सञ्चालनमा त छ, तर कोभिडको समयभन्दा धेरै बढी लागत, अवरोध र अनिश्चिततासहितको छ । यस्तो चरम अस्थिरताले व्यवसायीहरूलाई योजना बनाउन कठिन बनाएको छ ।
डिलवर्थ कफीका भोयटाका अनुसार कोभिड महामारी निकै डरलाग्दो थियो, तर अहिलेको अवस्था झनै तनावपूर्ण छ । उनको कम्पनीले पहिले कफीको स्रोत १२ देखि २४ महिनाअघि नै तय गर्ने गर्थ्यो । अहिले भने तीनदेखि ६ महिनाअघिसम्म मात्र आपूर्ति स्रोत तय गर्न सक्ने अवस्था छ । मौसमले पनि ठुलो भूमिका खेलेको छ । यस वर्षको ‘सुपर एल निनो’ का कारण भियतनाम र ब्राजिलको कफी उत्पादनबारे चिन्ता बढेको छ ।
त्यसमाथि कम्पनीसँग सीमित नगद मौज्दात छ । अत्यधिक ढुवानी लागतका कारण पहिले जति कफी भण्डारण गर्न सकिएको छैन । नाफाको अन्तर घटेको छ र ग्राहकसँग महामारीपछिको वर्षमा जस्तो खर्च गर्न सक्ने अतिरिक्त आम्दानी पनि छैन ।
सामान्य अवस्थामा भोयटाको कम्पनीको मासिक बिक्री ५ प्रतिशतसम्म तलमाथि हुन्थ्यो । अहिले भने बिक्री २० प्रतिशतसम्म घटबढ हुने गरेको छ । ‘डिजेलको मूल्य प्रतिग्यालन ६ डलरभन्दा माथि कति समय रहने हो ? यसको लागत हामीले ग्राहकसम्म कसरी पुर्याउने हो ?’ भोयटाले भने, ‘यो चुनौतीपूर्ण अवस्था हो । हाम्रा ग्राहकहरूले पनि हामीले जस्तै समस्या भोगिरहेका छन् ।’ एजेन्सी
प्रतिक्रिया