‘काठमाडौँ - दुई महिनाको अन्तरालमा दुई जना चालकले त्रिपुरेश्वर चोकमै आत्मदाह गरेको विषयमा अहिले सबैको ध्यान केन्द्रित भएको छ । किन यो परिस्थिति बारम्बार आइरहन्छ ? यसको लागि को जिम्मेवार छ ? ट्राफिक प्रहरी, सरकारी नीति नियम वा चालक स्वयम ? यसबारेमा सरकारले गम्भीरतापूर्वक कदम चाल्न ढिला भैसकेको छ । मृत्युको लागि नागरिकहरुले आत्मदाह जस्तो कठोर बाटो रोज्नुपर्ने बाध्यताको कारक को हो भन्नेबारेमा अब पनि सोचिएन भने मुलुक गम्भीर दुर्घटनातर्फ जाने निश्चित छ ।
संघीय संसदका सांसदहरुले पनि यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका हुन् ।
सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले सोमबार सवारीचालक अर्जुन दोङले मृत्युवरण गर्ने अवस्था आउनु ज्यादै दुखदः रहेको र उनले मृत्युवरण गर्नुको कारण सरकारले गम्भीर भएर खोजी गर्नुपर्ने बताए ।
“त्रिपुरेश्वर चोकमा उही ठाउँ र उही प्रकृतिको घटना दुई महिनाको अन्तरालमा दोर्योरिएकाले पनि ट्राफिक प्रहरीसँगको विवाद हुँदा चालकले आत्मदाह जस्तो गम्भीर प्रकृतिको घटना किन रोज्नुपरेको छ । त्यस्ता घटना रोक्न किन सरकारी निकायले पर्याप्त सावधानी अपनाइएन सो विषयमा सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने, “यस्ता घटना बारम्बार किन भइरहेका छन् भन्ने विषयमा सरकार गम्भीर हुन जरुरी छ ।”
सत्तारुढ दल रास्वपाकी सचेतक सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरचोकमा भएका दुई घटनाले प्रहरीको काम गर्ने शैली र चालकको मनोदशाको विषयमा गम्भीर हुन जरुरी रहेको बताएकि छिन् । उनले ट्राफिक प्रहरीको पनि यात्रु र चालकसँग गर्नुपर्ने व्यवहार र शैली बदल्नुपर्ने बताए ।
सांसद आशिका तामाङले ट्राफिक प्रहरीले अनिवार्य शरीरमा क्यामेरा जडान गरेर आवश्यक कारबाही अघि बढाउनुपर्ने बताए । सांसद वलावती शर्माले त्रिपुरेश्वर चोकमा २५ वर्षे युवाले बसभित्र आगो लगाएर मृत्युवरण गर्नुपर्ने अवस्था किन आयो भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद आरेन राई ‘जेनजी’ आन्दोलनपछि हरेक युवामा नैराश्यता छाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए । सांण्सद कुलभक्त शाक्यले त्रिपुरेश्वरचोकमा भएको घटनालाई सामान्य घटनाको रूपमा नहेरी गम्भीर घटनाको रूपमा हेर्नुपर्ने बताउँदै तत्कालै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
सांसद आशिष गजुरेल सडक प्रयोगकर्ता र चालकको मनोवैज्ञानिक असरका विषयमा विदेशी मुलुकमा ठूलो लगानी हुने गरेता पनि नेपालमा सो नहुँदा पनि विभिन्न खालका समस्या आउने गरेको बताए ।
सांसदहरुले सरकारसँग यो घटनाको जवाफ मागिरहँदा नेपाली समाजको आर्थिक सामाजिक मनोदशाको पनि विश्लेषण हुनुपर्दछ । नागरिकको जीवनभन्दा ठूलो कुनै नियम हुन सक्तैन । सामान्य नियम उल्लंघन गरेको बहानामा चालकहरुलाई तनाव दिने हाम्रो ट्राफिकको शैलीको बारेमा पनि सरकार र यातायात व्यवसायीहरुले सोच्नुपर्दछ । न्यून तलवमा काम गर्नुपर्ने बाध्यता, पारिवारिक तनाव, शाहुको कचकच र त्यसमा ट्राफिकको रुखो व्यवहार आदि कारणहरु कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारले दीर्घकालीन योजना बनाउन पनि अत्यन्त आवश्यक छ । चालकहरुको मनो सामाजिक अवस्थालाई सम्बद्ध पक्षहरुले ख्याल नगर्ने हो भने यस्ता घटनाहरु भविष्यमा पनि दोहोरीरहनेछन् ।
प्रतिक्रिया