अपडेट

दसैं–तिहार लक्षित १५ बुँदे निर्णय, अग्रिम टिकटदेखि चालकको स्वास्थ्य परीक्षणसम्म

बुधबार, ०७ असोज २०८३, १४ : ३४

काठमाडौं– आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउने उल्लेख गरेको हो। तर, बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले अझै तय गरेको छैन।

विभागले सार्वजनिक यातायात व्यवसायीलाई यात्रुको सहजताका लागि यथासम्भव अनलाइन टिकट बुकिङको व्यवस्था गर्न निर्देशन दिएको छ। यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, टिकट बिक्री गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्न तथा अनधिकृत काउन्टर र परिचयपत्र वा पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य पूर्ण रूपमा नियन्त्रण गर्न विभागले निर्देशन दिएको छ।

चाडपर्वका समयमा उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न भनिएको छ।

यात्रुले सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्नेछ। विभागले आधिकारिक काउन्टर तथा परिचयपत्र भएका कर्मचारीबाट मात्र टिकट लिन र मादक पदार्थ सेवन गरेर यात्रा नगर्नसमेत यात्रुलाई आग्रह गरेको छ।

चालक तथा कर्मचारीले सरकारले तोकेको मापदण्डअनुसार तोकिएको स्थानमा यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्नेछ। खाना तथा खाजा खुवाउने क्रममा भीडभाड हुन नदिन पनि व्यवसायीलाई निर्देशन दिइएको छ।

चाडपर्वमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण गरी आवश्यक मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई भनिएको छ। पहिरो नियन्त्रण, सडक जाम न्यूनीकरण तथा सडकको अवस्थाबारे यात्रुलाई नियमित जानकारी गराउन सडक विभागसँग अनुरोध गरिएको छ।

चाडपर्वका लागि आवश्यक पर्ने अतिरिक्त सवारीसाधनको व्यवस्था भने यातायात व्यवसायी आफैँले गर्नुपर्नेछ। साथै, यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवागमनका विषयमा सरोकारवालासँग थप छलफल गरी यातायात सञ्चालनको मिति र समयावधि तोकेर सूचना जारी गर्ने तयारी विभागले गरेको छ।

उपत्यका प्रवेश तथा बाहिरिने प्रमुख नाकासहित देशभर मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न पनि निर्देशन दिइएको छ। मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।

लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्नुपर्नेछ। त्यस्ता सवारीमा कम्तीमा दुई जना चालक राखी आलोपालो गरेर सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य सहयोगीका रूपमा काममा नलगाउन स्पष्ट निर्देशन दिएको छ।

चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको अत्यधिक चापका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रभावकारी अनुगमन तथा निगरानीलाई तीव्रता दिन सम्बन्धित निकायलाई विभागले निर्देशन दिएको छ।

बुधबार, ०७ असोज २०८३, १४ : ३४

प्रतिक्रिया