काठमाडौं - भदौ १० गते रसुवामा आएको बाढीले पारेको असरबाट पूर्ण रुपमा राहत पाउन नसकेका नागरिकमा तीन दिनको लगातारको झरी र प्राकृतिक विपत्तिका कारण अर्को संकट थपियो । यही विपत्तिकै कारण उत्तरी छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्णरूपमा ठप्प भएको छ ।
राजधानी प्रवेश गर्ने मुख्य राजमार्गहरु अवरुद्ध हुँदा उत्तरी नाकाहरुको भर पर्ने अवस्था थियो । त्यो पन बाढी र लगातारको वर्षा र झरीको कारण अवरुद्ध भएपछि राजधानीमा अभाव सिर्जना हुनु स्वभाविक थियो । दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला टुटेको छ । यसले काठमाडौंमा महंगीको दर अझै बढ्ने भयले उपभोक्तामा एक खालको त्रासदी छाएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ । तर, अब प्रमुख तीनवटै नाका जाने सडक र संरचना भत्किएपछि स्थलमार्गबाट हुने ठूलो परिमाणको व्यापारिक कारोबार असम्भव बनेको छ ।
पहिरोको जोखिम देखाउँदै चीनले सबैभन्दा पुरानो तातोपानी–खासा नाका यसअघि नै बन्द गरेको थियो । त्यसपछि १० भदौमा भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाको भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनायो ।
यी दुई मुख्य नाका बन्द भएपछि नेपाल–चीन व्यापारको भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने महत्त्वपूर्ण पुलका एप्रोच सडक बगाएपछि कोरला नाका पुग्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । कोरला नाका र त्यहाँको भन्सार कार्यालय सुरक्षित भए पनि बेनी–जोमसोम सडक खण्डका पुलमा क्षति पुग्दा मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ ।
तातोपानी र रसुवागढी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप ह्वात्तै बढेको थियो । १० देखि २५ भदौसम्मको १५ दिनमा मात्रै यो नाकाबाट ४ सय ३४ कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । चालु आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मात्रै मुस्ताङ भन्सारले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको थियो ।
अघिल्लो वर्ष १४ अर्ब ४१ करोड बराबरको आयात र ३ हजारभन्दा बढी विद्युतीय सवारी भित्र्याएको यो नाकाको बाटो नै काटिएपछि अब अर्बौंको व्यापार सडकमै रोकिएको छ । नाका बन्द हुँदा चीनबाट भित्रिने कपडा, जुत्ताचप्पल, झोलादेखि इलेक्ट्रोनिक्स र विद्युतीय गाडीसम्मको ढुवानी रोकिएको छ, जसले व्यापारी र उपभोक्ता दुवैलाई चिन्तित बनाएको छ ।
आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार अहिलेसम्म दसैंका लागि ल्याइएका जम्मा २० देखि ३० प्रतिशत मात्र सामान काठमाडौं आइपुगेको छ। ‘दसैँ लक्षित सामान बाटोमै रोकिएका छन्, गोदाममा भएका सामान बाटो डाइभर्ट गरेर कोरला नाकातिरबाट ल्याउन खोजिएको थियो, तर त्यो पनि सबै रोकियो,’ अध्यक्ष दाहाल भन्छन्, ‘अहिलेसम्म जम्मा बढीमा ३० प्रतिशत मात्र सामान आइपुगेको छ, त्योभन्दा बढी आएको छैन ।’
सामान आयातमा भन्सारको तर्फबाट खासै झन्झट नरहेको भए पनि डलरको भाउ र ढुवानी भाडा बढेका कारण मूल्य महँगिने अवस्था आएको उनले बताए । ‘डलरको भाउ पनि एकदमै बढेको छ, बाटो बन्द भएपछि ढुवानी भाडा पनि बढाइएको छ,’ दाहालले भने, ‘भाडा बढेका कारण अब आउने सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म महँगो पर्ने देखिन्छ ।’
दाहालका अनुसार ठूला मालबाहक गाडी चल्न नसकेपछि कतिपय व्यवसायीले भारतबाट साना गाडीमा सामान ल्याएर व्यापार गरिरहेका छन् । तर, भारतीय सामान चिनियाँभन्दा महँगो पर्ने र साना गाडीको ढुवानी खर्च बढी लाग्ने उनी बताउँछन् । चीनबाट सामान नआए पनि बजारमा पुरानो स्टक र स्वदेशी ९लोकल० उत्पादनले केही राहत दिएको छ ।
यसका साथै, लगातार ४–५ दिन पानी पर्दा बाटोघाटो बिग्रिएर बाहिरी जिल्लाका व्यापारी सामान लिन काठमाडौं नआउँदा होलसेल व्यापार ठप्प जस्तै बनेको छ ।
कतिपयले ह्वाट्सएप र सामाजिक सञ्जालबाटै अर्डर गरिरहे पनि धेरै व्यापार नभएको दाहाल बताउँछन् । ‘लगातार तीन वर्ष भइसक्यो, असोजमै पानी परेर बाटोघाटो भत्किने र व्यापार बिग्रिने गरेको छ,’ दाहालले गुनासो गरे, ‘व्यापारीलाई सधैं मार पर्ने भयो, सबैले यो विपत्ति सहनै पर्ने अवस्था छ ।’
कोरला नाकामा पनि भन्सार पासमा ढिलासुस्ती र पूर्वाधारको अभाव छ । सुरुवाती १५ दिनमा दैनिक ५० वटा कन्टेनरको भन्सार जाँचपास हुने गरेको भए पनि अहिले काम सुस्त भएको श्रेष्ठले बताए ।
‘कोरला नाकामा सरकारको भौतिक संरचना राम्रो छैन, जनशक्ति पनि कम छ,’ उनले भने, ‘त्यहाँ सफ्टवेयर र नेटवर्किङको ठूलो समस्या छ, कहिले सर्भर डाउन हुने, कहिले नेटवर्क नआउने समस्या एक वर्षदेखि चलिरहेको छ, जसलाई सरकारले सुधार्न सकेको छैन ।’
भौगोलिक दूरीका कारण कोरला नाकाबाट सामान ल्याउँदा ढुवानी भाडा अत्यधिक महँगो पर्न गएको छ । केरुङबाट कोरला पुग्न मात्रै चीनतर्फ १२ सय किलोमिटर घुम्नुपर्ने र कोरलाबाट यता २०० किलोमिटर अत्यन्तै बिग्रिएको बाटो आउनुपर्ने अवस्था छ ।
‘
नाका बन्दले बजारको अवस्था असन्तुलित बनेको उनी बताउँछन् । ‘व्यवसायीहरू अत्यन्तै पीडामा छन्, दसैं अगाडि बजारले जुन पिकअप लिनुपर्ने हो र जुन उत्साह देखिनुपर्ने हो, त्यो पटक्कै छैन,’ उनले थपे ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार अहिले भन्सार पास एकासहित डेढ सयभन्दा बढी मालवाहक गाडी र कन्टेनर भन्सारमै रोकिएका छन् ।
सरकारले चाडपर्वमा अभाव, महंगी र मूल्यवृद्धि रोक्नको लागि अहिले नै सोच्न जरुरी छ । अनुगमनलाई प्रभावकारी बनाएर बजारलाई सामान्यीकरणतर्फ उन्मुख बनाउन सबै उपयाहरु प्रयोग गर्नुपर्ने अवस्था आएको छ । साथै उपभोत्ताहरुले पनि एक जिम्मेवार नागरिकको हैसियतले मितव्ययिता अपनाउँदै संकटमा सहयोगी भूमिका खेल्न आवश्यक छ ।
प्रतिक्रिया