जनार्दन शर्माको अवधारणाले पायो मूर्तरूप, रुकुम पश्चिमको स्यार्पु हाइड्रोबाट ३.३ मेगावाट बिजुली उत्पादन

आइतबार, १८ असोज २०८३, १० : २९

रुकुम पश्चिम- रुकुम पश्चिमका स्थानीय सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको स्यार्पु हाइड्रो कम्पनी लिमिटेडले ३.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । यससँगै स्थानीय तहको लगानीमा सञ्चालित जलविद्युत् आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गरेको छ ।

विद्युत् उत्पादन सुरु भएकोमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर प्रदीप ओलीसहित सम्पूर्ण टोलीलाई बधाई तथा धन्यवाद दिएका छन् ।

स्थानीय तहलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउने तथा स्थानीय प्राकृतिक स्रोतसाधनको उपयोगमार्फत आर्थिक विकास गर्ने उद्देश्यले स्यार्पु हाइड्रोको अवधारणा पूर्वअर्थमन्त्री शर्माकै पालामा अघि बढाइएको थियो। स्थानीय तहको आफ्नै लगानीमा ऊर्जा उत्पादन गरी त्यसबाट प्राप्त हुने आम्दानीमार्फत आर्थिक समृद्धिको आधार तयार गर्ने लक्ष्यसहित आयोजना स्थापना गरिएको शर्माले बताएका छन् ।

आयोजनाको विद्युत् उत्पादन परीक्षण सफल भएपछि नेपाल विद्युत् प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन सुरु गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओलीले जानकारी दिएका छन् ।

स्थानीय सरकारको स्वामित्वमा जलविद्युत् आयोजना निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनु स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय तहको आर्थिक आत्मनिर्भरताका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

आइतबार, १८ असोज २०८३, १० : २९

प्रतिक्रिया