काठमाडौं- कम्प्युटर एशोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०का पूर्व अध्यक्ष नवराज कुँवर एसियन/ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको ४२औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७/२८ कार्यकालका लागि सो पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२२/२०२४ र २०२५/२०२६ मा उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए ।
कुँवरले भने, “सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ । साथै, यसले एसियाका विकासशील र अविकसित देशहरूबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु ।”
नयाँ कार्यसमितिमा PIKOM को प्रतिनिधि गर्दै मलेसियाका अध्यक्ष स्टान सिंह( जितको पूनस् नेतृत्वमा नेपाल, मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।
क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले कुँवरको नेतृत्वमा विश्वसामु नेपाली सूचना प्रविधि क्षेत्र र संस्थाहरूलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलिएकाले नै सर्वसम्मत निर्वाचित हुने वातावरण सिर्जना भएको बताए । उनले आगामी कार्यकालमा पनि उहाँबाट उल्लेख्य योगदान पुग्ने र नेपालले त्यसबाट लाभ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बधाई दिए ।
“असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,” महासचिव भुर्तेलले भने ।
प्रतिक्रिया