अर्थमन्त्री वाग्लेले घोषणा गरे ३० देखि ३५ नयाँ आर्थिक सुधार, दुई साताभित्र प्याकेज सार्वजनिक हुने

मंगलबार, ०१ मंसिर २०८३, १३ : ४१

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी एकदेखि दुई साताभित्र ३० देखि ३५ वटा नयाँ आर्थिक सुधारका कार्यक्रम समेटिएको प्याकेज सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले आर्थिक सुधार निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै सरकारले आगामी बजेटसम्म पर्खेर नबसी सुधारका कामलाई निरन्तरता दिइरहेको बताए ।

‘जेठ १५ मा बजेट आयो, अब अर्को जेठ १५ सम्म कुरेर बस्ने भन्ने हाम्रो छँदै छैन,’ उनले भने ।

वाग्लेका अनुसार पूर्वाधार सम्मेलनको सन्निकट ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने गरी बृहत् एकीकृत सुधार कार्यक्रमको तयारी भइरहेको छ । आगामी बजेटमार्फत ‘कर सुधार २.०’ कार्यक्रमलाई समेत निरन्तरता दिइने उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले भोटेकोसी राहत प्याकेज र पुँजीबजार सुधारका लागि सरकारले ल्याएको २१ बुँदे कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको दाबी गरे । उनका अनुसार पछिल्लो समय सेयर बजार पनि स्वस्थ लयमा फर्किन थालेको छ ।

मंगलबार, ०१ मंसिर २०८३, १३ : ४१

प्रतिक्रिया