काठमाडौं- नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउन विकास साझेदार तथा सरकारी निकायबीच सहकार्य आवश्यक रहेको नेपाली निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले बताएका छन् ।
राजधानीमा एसियाली विकास बैंक, विश्व बैंक र एसियन इन्फ्रास्ट्रक्चर बैंकको संयुक्त आयोजनामा भएको ‘बिजनेस अपरच्युनिटी सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले नेपाली निर्माण व्यवसायीलाई क्षमता, सुशासन र व्यावसायिक मापदण्डमा सुधार गर्न आग्रह गरेका हुन् ।
उनले विकास साझेदार संस्थाबाट सञ्चालित परियोजनामा नेपाली निर्माण व्यवसायीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । निर्माण आयोजनालाई समयमै सम्पन्न गर्दै गुणस्तर कायम गर्न विभिन्न नीतिगत तथा व्यावहारिक पक्षमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
पाण्डेले आयोजना तथा बोलपत्रसम्बन्धी सूचना समयमै उपलब्ध गराउनुपर्ने, नेपाली निर्माण कम्पनीको वास्तविक सहभागिता सुनिश्चित गर्नुपर्ने र उनीहरूको क्षमता विकासमा प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, जग्गा प्राप्ति, वन स्वीकृति, मूल्यवृद्धि तथा भुक्तानीमा हुने ढिलाइको जोखिम निर्माण व्यवसायीमाथि मात्रै थोपर्न नहुने उनले उल्लेख गरे ।
_qUL4qmRKV5.jpg)
निर्माण क्षेत्रको खरिद प्रक्रियालाई पारदर्शी, निष्पक्ष र व्यवसायीको वास्तविक क्षमतामा आधारित बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढेको उल्लेख गर्दै पाण्डेले त्यसको प्रभाव न्यूनीकरण गर्न चालु आयोजनामा समेत उचित मूल्य समायोजन र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी विश्व बैंक, एसियाली विकास बैंक तथा एसियन इन्फ्रास्ट्रक्चर बैंकका वरिष्ठ प्रतिनिधिहरूले पाण्डेले उठाएका विषय नेपालको निर्माण क्षेत्रका लागि सान्दर्भिक रहेको धारणा राखेका थिए ।
सेमिनारमा पूर्वाधार क्षेत्रमा क्रियाशील निर्माण व्यवसायी, परामर्शदाता तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया