काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले चुनावी तयारीलाई अघि बढाएको छ । जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिने भएपछि आयोगले नयाँ निर्वाचनको तयारीस्वरूप राजनीतिक दलहरूसँग परामर्श सुरु गर्न लागेको हो ।
आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनको मिति निर्धारण, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनका विषयमा परामर्श गर्न दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको हो । उनका अनुसार आज राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूसँग छलफल हुनेछ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
राष्ट्रिय दलहरूसँगको छलफलपछि आयोगले अन्य दर्ता भएका राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने तयारी गरेको छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएकाले त्यसअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी आयोगसामु छ ।
निर्वाचनको मिति, व्यवस्थापन र तयारीका विषयमा दलहरूको धारणा लिएर आवश्यक प्रक्रिया अघि बढाउने आयोगको योजना छ । यससँगै स्थानीय तहको आगामी निर्वाचनका लागि राजनीतिक तथा प्रशासनिक तयारीले गति लिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया