अप्डेट

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, फेरि लुम्बिनीसँग उपाधि भिडन्त

विहीबार, ०३ मंसिर २०८३, २१ : १९

काठमाडौं- थारिन्दु रत्नायकेको उत्कृष्ट ब्याटिङको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गरेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितका नायक बनेका रत्नायकेले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए।

एक समय ५८ रनमै ४ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई रत्नायकेले सम्हालेका थिए। उनले कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे। दीपेन्द्र १५ रनमा आउट भएपछि आरिफ शेखसँग छैटौं विकेटका लागि २६ रन जोडे। आरिफले १० रन बनाए।

त्यसपछि फाबियन एलेनसँग सातौं विकेटका लागि ३० रनको साझेदारी गर्दै रत्नायकेले टोलीलाई जितनजिक पुर्‍याए। अन्तिम ओभरमा जितका लागि ४ रन आवश्यक हुँदा चितवनका कमिल मिरशाले पहिलो चार बलमा २ रन मात्र दिए। चौथो बलमा एलेन रनआउट भएपछि खेल रोमाञ्चक बनेको थियो। तर रत्नायकेले पाँचौं बलमा चौका प्रहार गर्दै सुदूरपश्चिमलाई फाइनल पुर्‍याए।

सुदूरपश्चिमका विनोद भण्डारीले २३, दीपेन्द्रसिंह ऐरीले १५ र इशान पाण्डेले १० रन बनाए। चितवनका रन्जित कुमारले २ विकेट लिए भने अन्य पाँच बलरले समान एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। सलाउद्दीन खानले १८ र कमलसिंह ऐरीले १० रन जोडे।

चितवनको सुरुवात भने निकै खराब रह्यो। १५ रन जोड्दा दुई विकेट गुमाएको चितवनले ३१ रन पुग्दा तेस्रो विकेट पनि गुमायो। त्यसपछि लगातार विकेट गुमाउँदै ६२ रनमा ६ विकेटको क्षतिमा पुगेको टोलीलाई मलानले सम्हालेका थिए। उनले सलाउद्दीनसँग सातौं विकेटका लागि ४० रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए। थारिन्दु रत्नायकेले २ विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र इशान पाण्डेले समान एक विकेट लिए। बलिङमा २ विकेट र ब्याटिङमा अविजित ५३ रन बनाएका रत्नायके खेलको प्लेयर अफ द म्याच घोषित भए।

यस जितसँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा पुगेको छ। अघिल्ला दुई संस्करणमा पनि फाइनल खेलेको सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

यसपटक पनि उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनी लायन्सकै सामना गर्नेछ। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको लुम्बिनीले यस सिजन लिग चरणको पहिलो भेट र पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई पराजित गरिसकेको छ।

लुम्बिनीसँग लगातार चौथो जित निकाल्दै उपाधि जोगाउने लक्ष्यमा रहनेछ भने सुदूरपश्चिम अघिल्ला तीन हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्ने दाउमा हुनेछ। फाइनल खेल शनिबार हुनेछ।

विहीबार, ०३ मंसिर २०८३, २१ : १९

प्रतिक्रिया