काठमाडौं- व्यावसायिक सेफहरूबीच प्रतिस्पर्धा गराउने उद्देश्यसहित नेपालको पहिलो प्रतिस्पर्धात्मक कुकिङ रियालिटी शो ‘सेफ नेपालः द प्रोफेसनल्स’ सन् २०२७ को फेब्रुअरीदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ ।
नेपालको कुलिनरी तथा ग्यास्ट्रोनोमी क्षेत्रको विकास र नेपाली खानाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा स्वदेश तथा विदेशमा कार्यरत नेपाली व्यावसायिक सेफहरूले आफ्नो पाककला, सिर्जनशीलता, अनुभव र व्यावसायिक दक्षता प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताका लागि विश्वका विभिन्न देशमा कार्यरत नेपाली सेफहरूबाट समेत गरी १४५ आवेदन प्राप्त भएका छन् ।
प्रारम्भिक छनोटपछि ३० जना सेफलाई आगामी चरणका लागि छनोट गरिएको छ । तीमध्ये उत्कृष्ट २० सेफले टेलिभिजनमा प्रसारण हुने मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०१६ मा परिकल्पना गरिएको ‘सेफ नेपाल’ औपचारिक रूपमा सन् २०२१ मा सुरु भएको थियो । यसको पहिलो संस्करण सन् २०२३–२०२४ मा कान्तिपुर टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रसारण भएको थियो ।
पहिलो संस्करणको सफलतापछि सेफ नेपालले टेलिभिजन कार्यक्रमसँगै पाककला पोडकास्ट, डिजिटल सामग्री, व्यावसायिक कार्यक्रम, सेफहरूको सञ्जाल निर्माण तथा शैक्षिक गतिविधिमार्फत कुलिनरी समुदाय विस्तार गर्दै आएको छ ।
आयोजकका अनुसार ‘सेफ नेपालः द प्रोफेसनल्स’ सामान्य पाककला प्रदर्शनमा मात्र सीमित हुनेछैन । यसले व्यावसायिक भान्सामा आवश्यक सीप, अनुशासन, टिमवर्क, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रतिस्पर्धामार्फत प्रस्तुत गर्नेछ ।
कार्यक्रमका लागि योहो टेलिभिजनलाई आधिकारिक प्रसारण साझेदार तथा सुयुश्ना मिडिया बजलाई विशेष बजार व्यवस्थापन साझेदारका रूपमा आबद्ध गरिएको छ ।
कार्यक्रमको छायांकन तथा निर्माण सन् २०२७ को जनवरीदेखि सुरु हुनेछ भने टेलिभिजन प्रसारण फेब्रुअरीको मध्यदेखि गर्ने तयारी छ ।
कार्यक्रम निर्माण पक्षले विभिन्न ब्रान्ड, व्यावसायिक प्रतिष्ठान, कर्पोरेट संस्था, होटल तथा हस्पिटालिटी समूह र उद्योग व्यवसायीलाई प्रायोजन, ब्रान्ड साझेदारी, उत्पादन समावेशीकरण तथा रणनीतिक सहकार्यका लागि आह्वान गरेको छ ।
धर्मा पिक्चर्सको पहलमा सञ्चालित सेफ नेपालले नेपाली सेफहरूको प्रतिभा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै नेपालको पाककला तथा खानाको पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया