अपडेट

अब काठमाडौंका बजार क्षेत्र २४ घण्टा खुला राख्ने तयारी, सुरक्षा र पूर्वाधारमा जोड

विहीबार, ०३ मंसिर २०८३, १३ : २८

काठमाडौं- काठमाडौं जिल्लाका व्यापारिक तथा बजार क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा, यातायात, स्वास्थ्य सेवा तथा आवश्यक पूर्वाधारको व्यवस्था मिलाएर जिल्लाभरका बजारलाई रातदिन खुला राख्ने रणनीति तयार गर्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालयले मंसिर १ गते जारी गरेको सूचनाअनुसार दरबारमार्ग र ठमेल क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णयअनुसार सञ्चालनमा छन् । अब यी दुई क्षेत्रबाहेक काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई समेत २४ घण्टा सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन लागिएको छ ।

सुरक्षा र पूर्वाधारलाई प्राथमिकता

प्रशासनका अनुसार काठमाडौंलाई चौबिसै घण्टा खुला राख्ने व्यवस्था कार्यान्वयन गर्नुअघि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी निगरानी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्नेछ ।

रातको समयमा पनि व्यापारिक गतिविधि सञ्चालन हुने भएकाले यातायात, वस्तु तथा सेवाको आपूर्ति, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनुपर्ने प्रशासनको भनाइ छ ।

योजना कार्यान्वयनका लागि स्थानीय तह, विभिन्न सरकारी विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिसँग समन्वयात्मक बैठक आयोजना गरिने सूचनामा उल्लेख छ ।

योजना कार्यान्वयनमा आए काठमाडौंका बजार तथा व्यापारिक क्षेत्र रातभर सञ्चालन गर्न सकिनेछन् । यसले रात्रिकालीन आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विहीबार, ०३ मंसिर २०८३, १३ : २८

प्रतिक्रिया