काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री आगामी मंसिर २ गतेदेखि खुला गर्ने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट गत असोज ७ गते स्वीकृति पाएको यस योजनाको अवधि १० वर्ष रहेको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ । योजनाको इकाई खरिदका लागि मंसिर २ गतेदेखि आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गते बन्द हुनेछ ।
योजनाको कुल आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले बीज पुँजीका रूपमा लगानी गर्नेछ ।
सिटिजन्स सुपर ५० को मुख्य विशेषता उत्कृष्ट तथा लगानीयोग्य ५० वटा कम्पनी छनोट गरी तिनमा लगानी केन्द्रित गर्नु हो । छनोट गरिएका कम्पनीका सेयरमा लगानी गरी विविधीकृत पोर्टफोलियो निर्माण गर्ने र व्यावसायिक लगानी व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य योजनाले राखेको छ ।
विशेषगरी विभिन्न कम्पनीको अध्ययन, विश्लेषण र छनोट गरी लगानी गर्न कठिनाइ हुने सर्वसाधारण लगानीकर्तालाई विशेषज्ञ व्यवस्थापनमार्फत सामूहिक रूपमा सेयर बजारमा लगानी गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । इकाई बाँडफाँडपछि योजना नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत हुनेछ । त्यसपछि दोस्रो बजारमार्फत यसको कारोबार गर्न सकिनेछ ।
सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमा हासिल गरेको अनुभव र संस्थागत क्षमताका आधारमा इक्रा नेपालबाट ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्राप्त गरेको छ । यसअघि कम्पनीले व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०।४० प्रतिशत प्रतिफल प्रदान गरेका थिए ।
विगतका योजनाको व्यवस्थापन अनुभव, लगानी अनुशासन र इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजनालाई पनि व्यावसायिक तथा व्यवस्थित रूपमा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
सामूहिक लगानी कोष व्यवस्थापनका अतिरिक्त सिटिजन्स क्यापिटलले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया