काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ (सीएमएफ२) सात वर्षे अवधि पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिन सफल भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको ५६ करोड रुपैयाँको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो। सात वर्षे अवधि पूरा गर्दै २०८३ असार २१ गते योजना परिपक्व भएको हो।
कम्पनीका अनुसार खारेजी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कामसमेत सुरु भइसकेको छ। योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक नगद लाभांश वितरण गर्दै आएको थियो।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद निरन्तर प्रतिफल दिन सफल हुनुलाई क्यापिटलले आफ्नो लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा लिएको छ।
यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ (सीएमएफ१) मार्फत पनि क्यापिटलले औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको थियो।
यसैबीच, सिटिजन्स क्यापिटलले अर्को बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन आगामी मंसिर २ गतेदेखि सुरु हुने तय भएको छ।
१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ। योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।
हाल सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनासहित विभिन्न सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको छ।
कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापनको गुणस्तरका लागि इक्रा नेपालबाट एएमसी क्वालिटी ३ प्लस रेटिङ प्राप्त गरेको जनाएको छ। विगतका योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै सिटिजन्स सुपर ५० को लगानी व्यवस्थापनलाई पनि व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठ रहेका छन्। क्यापिटलले संस्थागत सुशासन, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जनाएको छ।
प्रतिक्रिया