काठमाडौं- साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको हो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
यस दिन ३५३ वटा धितोपत्रका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढ्दा १८५ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३५९ रुपैयाँ पुगेको छ। सेन्ट्रल फाइनान्सको मूल्य पनि ६ प्रतिशतले बढेर प्रतिकित्ता ६३६ रुपैयाँ ९० पैसा कायम भएको छ।
यता एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार १८२ रुपैयाँमा झरेको छ। सिवाइसिएल लघुवित्तको मूल्य पनि ४.८६ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार २३२ रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा नबिल बैंक डिबेन्चर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १ हजार १२२ रुपैयाँ ५० पैसाका दरले २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, घोराही सिमेन्टको २० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। उक्त कम्पनीको सेयर प्रतिकित्ता ३२९ रुपैयाँका दरले किनबेच भएको हो।
मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ। बाँकी १२ समूहको परिसूचक घटेका छन्। होटल तथा पर्यटन समूह सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।
प्रतिक्रिया