काठमाडौं- स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ। अभियानले स्थानीय तहलाई दलीय हस्तक्षेपबाट मुक्त राख्नुपर्ने भन्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको हो।
अभियानका संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले स्थानीय निर्वाचन प्रणाली सुधार र सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।
ज्ञापनपत्रमा स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा र बजेट विनियोजनमा देखिएका समस्याले स्थानीय शासन तथा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको उल्लेख गरिएको छ।
अभियानले राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र चुनाव चिह्न प्रयोग गर्ने व्यवस्था मिलाउन आयोगसँग आग्रह गरेको छ। साथै, गैरदलीय निर्वाचन प्रणाली कार्यान्वयनका लागि आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गर्न पनि माग गरेको छ।
त्यस्तै, निर्वाचन प्रणाली सुधारसम्बन्धी छलफल र नीतिगत बहसमा नागरिक अभियानको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको माग छ। आवश्यक कानुनी तथा प्रशासनिक तयारी पूरा गरेर मात्रै आगामी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पनि आयोगको ध्यानाकर्षण गराइएको छ।
नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्वायत्तता, जनसहभागिता र प्रत्यक्ष जनउत्तरदायित्वका आधारमा सञ्चालन गर्ने परिकल्पना गरेको उल्लेख गर्दै अभियानले स्थानीय सरकारलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ।
अभियानका संयोजक धमलाले केही महिनादेखि नै देशका विभिन्न स्थानमा पुगेर स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट हुनुपर्ने धारणा राख्दै आएका छन्। उनले स्थानीय तहको नेतृत्व सक्षम, योग्य र इमानदार व्यक्तिलाई सुम्पिनुपर्ने बताएका छन्।


प्रतिक्रिया