निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष गणेशलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

विहीबार, ०३ मंसिर २०८३, १५ : १२

काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पूर्व अध्यक्ष गणेशलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । महासंघको स्थायी समितिको बैठकले श्रेष्ठको योगदानको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

महासंघ अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा मंसिर २ गते महासंघ सचिवालयमा बसेको बैठकले श्रेष्ठको निधनबाट मुलुकको निर्माण तथा पूर्वाधार क्षेत्रमा अपूरणीय क्षति पुगेको निष्कर्ष निकालेको छ ।

श्रेष्ठले नेपालको निर्माण उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । उनी २०४७ देखि २०५४ सालसम्म लगातार तीन कार्यकाल तत्कालीन नेपाल निर्माण व्यवसायी संघको अध्यक्ष रहेका थिए । २०५४ सालमा संघलाई महासंघमा रूपान्तरण गर्ने क्रममा उनले महासंघको तदर्थ समितिको अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेपालले सन् १९९९ मा पहिलो पटक ३०औँ इफाप्का सम्मेलन आयोजना गर्दा श्रेष्ठ उक्त संगठनको अध्यक्ष थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका साथै एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन इफाप्काका पूर्व अध्यक्षसमेत हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ले सोमबार साँझ पशुपति आर्यघाटमा श्रेष्ठको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा वरिष्ठ निर्माण व्यवसायी एवं पूर्वमन्त्री विक्रम पाण्डे, महासंघका निवर्तमान अध्यक्ष रवि सिंह, पूर्व अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, निर्माण व्यवसायी तथा कर्मचारीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

९१ वर्षको उमेरमा मंसिर १ गते श्रेष्ठको निधन भएको हो । महासंघले उनको निधनबाट निर्माण उद्योगले अनुभवी र दूरदर्शी नेतृत्व गुमाएको जनाएको छ ।

विहीबार, ०३ मंसिर २०८३, १५ : १२

प्रतिक्रिया