काठमाडौं- जिल्ला प्रहरी कार्यालय धुलिखेलमा १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को प्राविधिक अनुसन्धान भइरहेको छ ।
पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त डिजिटल सामग्री प्रयोग गर्दै आएको आशङ्कामा प्राविधिक अनुसन्धान गर्नुपरेको प्रहरीले जानकारी दिएको छ ।
रिसोर्टमा बस्दैै आएका चिनिया नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीयबासीको गुनासोलाई मनन् गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्राविधिकले बरामत उपकरणको अनुसन्धान गरिरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार मङ्गलबारदखिनै हिरासतमा राखिएका नियन्त्रित चिनियाँ नागरिकबारे कम्प्युटर र मोबाइलको अनुसन्धानपछि सिआईबीको रायअनुसार कानुनी प्रक्रिया अघि बढने बताइएको छ ।
“पर्यटकीय भिसामा काम गरेर बसेको जस्तो देखिन्छ, दोषी ठहरिय काननुअनुसार कार्वाही हुन्छ, अन्यता अध्यागमन विभागमा बुझाइन्छ”, विष्टले भने ।
थाङ्का चित्र बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेलापरेको प्रहरीले जनाएको हो ।
चिनियाँ नागरिक उक्त रिसोर्टमा बस्न थालेपछि वडाध्यक्ष रामशरण दङ्गालले चासो दिएपनि सामान्य गतिविधिबाहेक अन्य विषयमा जानकारी लिन नसकेको बताए । “केही हप्ताअघि प्रहरीसहित हामी रिसोर्ट गएर बुझ्दा दुईचार जनाले हामी थान्का चित्र बनाउने हो भनेपछि फर्किएका थियौँ”, दङ्गालले भने ।
रिसोर्टका सञ्चालक सूर्य भेटुवालका अनुासर तीन महिनाअघि उक्त टोलीलाई रिसोर्ट नै भाडामा दिइएको बताए । चिनियाँ नागरिकले पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै रिसोर्ट भाडामा लिएको भेटुवालको भनाइ छ ।
रिसोर्टमा विदेशी नागरिकको समूह लामो समयदेखि बसिरहेको भए पनि उनीहरुले के गरिरहेका छन् भन्नेबारे स्थानीय जनप्रतिनिधि नै अनभिज्ञ रहेको बताइन्छ । वडाध्यक्ष दङ्गालले भने पछिल्लो समय चिनियाँ नागरिकको गतिविधिबारे शङ्का लागेको र स्थानीयबाट थप गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरिएको र छानबिनका लागि सहजीकरणसमेत गरेको बताए ।
भेटुवालले चिनियाँ नागरिक आफैँ रिसोर्ट खोज्दै आएकाले रिसोर्ट भाडामा दिएको बताए । ‘सेफ’समेत उनीहरुले आफैँसँग ल्याएकाले रिसोर्टका कुनैपनि कर्मचारी त्यहाँ नरहेको भेटुवालले बताए ।
यसैबीच, पाँचखालको घटनापछि काभे्रपलाञ्चोकको धुलिखेल, पनौती र बल्थली क्षेत्रमा चिनियाँ नागरिकको बसाइ र गतिविधिबारे चासो बढाइएको छ । पनौतीका एक निर्माण ब्यवसायीका अनुसार बल्थली क्षेत्रमा नयाँ तथा ठूला होटल–रिसोर्टमा केही महिनादेखि चिनियाँ नागरिकको चहलपहल बढिरहेको छ ।
काभ्रेपलाञ्चोकका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको बसाइ, उनीहरुले गर्ने गतिविधि तथा कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउन थालिएको छ । “आजदेखि थप प्रहरी परिचालन गरी शङ्कास्पद क्षेत्रका होटल–रिसोर्टमा अनुगमन÷निरीक्षण थालिएको छ”, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने ।
उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’द्वारा थप सूचना लिइनेछ ।
प्रतिक्रिया