ट्याक्सी चालकलाई कण्डम अनिवार्य !

शुक्रबार, ०८ कार्तिक २०७६, १४ : ०८

भारतको दिल्लीमा ट्याक्सी चालकहरु आफ्नो सवारीमा कण्डम राखेर हिँड्न थालेका छन् । यदी उनीहरुले सवारीमा कण्डम राखेनन् भने ट्राफिकले चिट काट्ने गरेको समाचारहरु सार्वजनिक भएको छ ।

भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् । कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइए भारी जरिवाना गरेको चालकहरुको गुनासो छ ।

प्राथमिक उपचारका सामान राख्ने बाकसमा ट्याक्सी चालकहरुले कण्डम समेत राख्ने गरेका हुन् । यद्यपि सवारी साधनमा कन्डम अनिवार्य नगरिएको ट्राफिक अधिकारीहरु बताउँछन् । चालकहरु भने चेकिङका क्रममा ट्राफिकले कण्डम समेत खोज्ने गरेको बताउँछन् ।

एएनआई समाचार एजेन्सीका अनुसार कतिपय चालकले कण्डम नबोकेकै आधारमा जरिवाना तिरेको बताएका छन् । जरिवाना तिर्नु परेकै कारण पछिल्लो समय दिल्लीका अधिकांश ट्याक्सी चालकले कण्डम बोक्न थालेका हुन् ।

त्यसो त, कण्डमलाई सुरक्षित यौन सम्पर्ककालागि मात्र नभई अन्य प्रयोजनमा समेत प्रयोग गर्न सकिन्छ । सवारी चालकले कन्डम साथमा राख्दा फाइदा नै हुने अधिकारीहरुको भनाइ छ । मोटरको ‘प्रेसर पाइप’ फुट्दा इन्धन चुहावट रोकेर गन्तव्यतर्फ पुग्नका लागि कण्डम प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ ।

यस्तै, चोट पटक लागेको अवस्था रक्तस्राव रोक्न सकिने गरी कन्डमले शरीरका अंग बाँध्न सकिने, वर्षाको समयमा जुत्तालाई भिज्नबाट बचाउन सकिनेजस्ता फाइदा कण्डमबाट हुने चालकहरु बताउँछन् ।
यो समचार नेपालअटो अनलाइनमा रहेको छ ।

शुक्रबार, ०८ कार्तिक २०७६, १४ : ०८

प्रतिक्रिया