पोखरीको तारेभीरमा पर्यटकको आकर्षण बढ्दो

४ बर्ष अगाडि

युगौँदेखि वर्षात्को पानी सङ्कलन गरी वस्तुभाउलाई खुवाउनाका साथै कृषिका लागि पनि उपयोग हुँदै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभीर पोखरीको संरक्षण तथा आवश्यक भौतिक संरचना निर्माण पछि यो स्थलमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेकोे हो ।

स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको अभाव हुने बेलामा पशुलाई खुवाउन र खेत रोप्नका लागि तारेभीर पोखरीको पानी प्रयोग हुँदै आएको थियो ।     
     
गाउँको सिरानमा रहेको सो पोखरीमा वर्षभर पानी हुने भएकाले पशुलाई पोखरीमै लगेर पानी खुवाउनाका साथै भैंँसीका लागि आहाल बस्न उपयोगी भएको थियो । गाउँको इतिहास बनेको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य बनेको उनले बताए ।

त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरिएको जानकारी दिँदै गुरुङले अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा पुर्याइएको छ भने। समुद्री सतहदेखि लगभग एक हजार ६०० मिटरको उचाइमा अवस्थित २० मिटर लामो र १५ मिटर चौँडा सो पोखरीको गहिराइ साढे एक मिटर रहेको वडा सदस्य चेतभक्त बरालले जानकारी दिए ।     
     
उनकानुसार पोखरा महानगर वडा कार्यालयबाट रू दुई लाख ५० हजार र हरियो वन कार्यक्रमको रु ७५ हजार एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग रु चार लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको हो । पोखरीको चारैतर्फी पर्क्की पर्खाल लगाई करीब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखिएकाले अहिले पोखरी संरक्षणसहित सफा र सुन्दर बन्न सहयोग पुगेको छ ।

आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको सुनाउँदै स्थानीय डिलबहादुर गुरुङले अहिले पोखरी संरक्षणसँगै माहुरजातका आठ सय माछाका भुरा हालिएको बताएका छन् । पोखरीमा अहिले भैंँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उनले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दश घरपरिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको जानकारी दिए ।     
     
अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायत मनोरम हिमशृङ्खलासहित फेवाताल र केही पोखरा बजारको दृश्यावलोकन गर्न सकिने सो स्थानमा अहिले पनि दैनिक ५० देखि एक सय पर्यटक आउने गरेको उनले बताए । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालावाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म पुर्याउनका लागि पहल भइरहेको बताउँदै उनले यसको प्रचारप्रसारको आवश्यकता औंल्याए ।दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माका अनुसार पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा विकास गरिनुपर्दछ । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा–सिद्धार्थराजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तुपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको सो पोखरीसम्म पुग्न कच्ची मोटर बाटो निर्माण गरिएको छ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया