गौराती मेला सम्पन्न

४ बर्ष अगाडि

धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी बिहीबारबाट विधिवतरूपमा सम्पन्न भएको हो ।
 
चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वरको मूर्तिसँग मिलन गराउने गरिन्छ । भोलिपल्ट रथलाई फर्काएर सरकारी पूजासहित गुठियारको घरघरमा डुलाएर पूजाआजा गरी द्वादशीको दिन सिन्दुरे जात्रासहित रथलाई गुठीघरमा थन्क्याएपछि जात्रा समापन गरिन्छ । यसरी मेला सम्पन्न भए पनि प्रत्येक महिनाको पञ्चमीका दिन बाजागाजासहित विभिन्न ठाँँउबाट पञ्चबलि चढाउनेको भीड लाग्ने गर्दछ । यो क्रम माघ फागुुनसम्म कायम रहन्छ ।

सदरमुकामबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ६ स्थित पिपलडाँडाको गौरातीडाँडामा रहेको मन्दिर पुग्न उकालो बाटो पर्दछ । आधुनिकताको क्रमसँगै भारी रथ बोकेर लग्ने व्यक्तिको विगत वर्षदेखिनै अभाव खट्किएको छ । रथलाई गाडीमा राखेर लाने केही गुठियारको मत रहे पनि बूढापाकाहरुको असहमतिका कारण गर्दा केही वर्षदेखि मुस्किलले केटाकेटीको भरमा लाने÷ल्याउने गरिएकाले चाँडैनै विकल्प खोज्नुपर्ने स्थिति आएको गुठियार राजेन्द्र श्रेष्ठले बताए । 

मेला भर्न यस वर्ष करीब ५० हजारको हाराहारीमा सहभागिता थियो । मेला भर्न राजधानीलगायत छिमेकी जिल्लाहरुबाट पनि सवारी साधन ‘रिजर्भ’ गरेर आउनेको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष तोकबहादुर तामाङले बताए। मेलामा व्यापारका सिलसिलामा तराईका साथै सीमावर्ती भारतबाट पनि आउने गरेका छन । मन्दिर परिसरमा दियोमा बत्ती बाल्ने झण्डै २५ हजारको सङ्ख्यामा थिए । उनीहरुबाट बाल्दा राखिएको चामल करीब १५७ मुरी भएको र त्यो सबै गुठियारले आफ्नो व्यवस्थापनका लागि लिने गरेको वडाध्यक्ष तामाङले बताए । 

मेला अवधिभर करीब २० हजार पशु पक्षीको बलिपूजा भएको बताइएको छ । एकादशीको दिन गुठियारको सात वटा बोकाको बलि पूजा गरेपछि मात्र सर्वसाधारणका लागि पूजा खुला हुन्छ । मन्दिरमा बिहान ११ बजेसम्म भीमसेनको रूपमा बलिपूजा गरिने र त्यसपछि महादेवको रूपमा गाईको दूध चढाएर पूजा गरिने प्रचलन छ । मन्दिरमा अवस्थित मूर्तिलाई नेवार समुदायले विगतदेखि नै भीमसेनको रूपमा पूजाआजा गर्दै आएका थिए । तर अन्य समुदायले भीमेश्वरको अर्को रूप महादेव भएको चर्चा चलेपछि २०५३ सालमा मन्दिरको पुनःनिर्माणसँगै लतिलपुरका स्वर्गीय मङ्गलराज जोशीको सहभागितामा विद्धत् वर्गको धार्मिक सम्मेलन गरिएको थियो । उक्त सभाले परम्परालाई पनि कायम राख्ने र सहभागीले राखेको जिज्ञासालाई पनि कदर गरी त्यस्तो प्रचलन कायम गरिएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया