भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खोलिने

४ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएका छन् ।

चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताए ।   

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरु गर्न निर्देशन दिएको जानकारी गराउँदै उनले भने, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, देशभित्र र बाहिर सबैतिर तयारीका लागि पत्राचारसमेत गरिसकिएको छ ।”

चालीस देशमा रहेका दूतावासमार्फत भ्रमण वर्षको प्रचार–प्रसारको काम भइरहेको उनले जानकारी दिए ।

भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, व्यवसायीबाट आकर्षक कार्यक्रम घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्ने लगायतका काम भइरहेका उनले बताए ।

उनका अनुसार हिमाल आरोहणका लागि आउने पर्यटकका लागि सरकारले बीमा अनिवार्य गराउने, उद्धारका लागि सहज बनाउने, पथप्रदर्शक अनिवार्य लिएर हिँड्नुपर्नेजस्ता नियम बनाइएकाे छ ।

सन् २०२० को जनवरीमा सात प्रदेश र केन्द्रमा भव्यरूपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दूतावासमा जनवरी ७ तारिखमा शुभारम्भ गर्ने तयारीका साथ सरकार अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया