न देशमै रोजगारी, न विदेशबाट पैसा : १५ महिना मलेसिया जान बन्द गरेकाे असर अहिले

४ बर्ष अगाडि

सरकारले विकल्प विना गतवर्ष मलेसिया रोजगारीमा जान बन्द गरेको परिणाम अहिले देखिन थालेको छ । 

२०७५ सालको जेठ २ देखि २०७६ भदौसम्म १५ महिना मलेसिया रोजगारी बन्द गर्दा अहिले रेमिट्यान्स घट्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मलेसियाका प्राइभेट कम्पनीले ठगी गरेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेपछि नेपालीहरुको रोजगारीमा जाने पहिलाे गन्तव्य बन्द भएको थियो ।  

जसका कारण करिब डेढलाख नेपाली रोजगारीका लागि जान नपाउँदा देशको अर्थतन्त्रकै आधारस्तम्भका रुपमा रहेको रेमिट्यान्स भित्रिने घट्न थालेको हो ।

सँधैका वर्षहरुमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने महिना असोजमा ४.९ प्रतिशतले रेमिट्यान्स घटेको राष्ट्रबैंकको तथ्यांक छ ।

यो वर्ष असोजमा २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ आएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसअघि भदौमा पहिलोपटक ०.३ प्रतिशतले कमि देखिएको थियो । 

मलेसिया रोजगारी सहित हुण्डीको कारोबार बढेको कारण अबैधानिक माध्यमबाट पैसा आउँदा रेमिट्यान्स कम देखिएको पनि उनीहरुको तर्क छ । 

‘मलेसियामा धेरै नेपालीहरु गएर ठूलो परिमाणमा रकम पठाउने गर्नु भएको थियो, लामो समय रोकिदा त्यसको प्रभाव अहिले पर्‍यो’, अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन् ‘अर्को कुरा हुण्डी कारोबार बढेको शंका गर्ने प्रशस्तै ठाउँ छ ।’

स्वदेशमा भरपर्दो रोजगारीको व्यवस्था नगर्ने र जुन कारणले मलेसिया रोजगारी बन्द गरेको हो त्यसको उपलब्धि नभएपछि मन्त्रालयको  निर्णय नै देशका लागि प्रत्युत्पादक देखिएको विज्ञहरु बताउँछन् । 

जसका कारण रेमिटन्स पनि ओरालो लाग्दा अर्थतन्त्रमै समस्या आउने खतरा देखिएकाे समेत अर्थविद्हरूकाे भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया