हिमखम्बाले पर्यटकलाई सहज

४ बर्ष अगाडि

साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा हिमखम्बा राखिएपछि पर्यटक र पथप्रर्दशकलाई आवागमनमा सहज भएको छ । पदमार्गका विभिन्न ठाउँमा हिमखम्बा र साङ्केतिक खम्बा राखिएसँगै हिउँ परेपछि बाटो भुल्ने समस्याबाट पर्यटक र पथप्रर्दशकले मुक्ति पाएका छन् । 

हिउँले बाटो छोपेपछि पर्यटकलाई यात्रामा समस्या हुँदै आएको थियो । आधार शिविर प्रवेशद्वार घुन्सादेखि माथिल्लो क्षेत्रमा खम्बाहरु गाडिएका छन् । यात्रा सहज बनाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत समृद्ध पहाडले २०० थान हिमखम्बा र १०० थान साङ्केतिक खम्बा गाडेको समृद्ध पहाडका वरिष्ठ कार्यक्रम संयोजक सुदीप श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार घुन्सादेखि उत्तरी आधार शिविर जाने पदमार्ग खम्वाचेन, लोनाक र पाङ्पेका साथै दक्षिणी आधार शिविर जाने सेलेले, चेइराम, ओक्तानसम्म नै खम्बा गाडिएको छ । पाङ्पेमा उत्तरी र ओक्तान दक्षिणी आधार शिविर हुन् । उत्तरतर्फ हिमखम्बा र दक्षिणतर्फ साङ्केतिक खम्बा गाखिएको छ । 

कञ्चनजङ्घामा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ । नेपाल भ्रमण वर्षलाई समेत सहयोग गर्ने उद्देश्यले आवश्यक काम भइरहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए। उनका अनुसार कञ्चनजङ्घाको पदमार्गलाई छोट्याउने लगायतका कार्य भइरहेका छन् । २२ देखि २८ दिनको कञ्चनजङ्घा यात्रालाई छोट्याएर नौ दिनमा नै सम्पन्न गर्न सकिने नयाँ रुटको समेत विकास गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया