नाली निर्माणमा अनियमितता

४ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ अन्तर्गत निर्माण भइरहेको नालीमा चरम अनियमितता भएको स्थानीयवासीले आरोप लगाएका छन् ।केन्द्र सरकारको शहरी विकास मन्त्रालयमार्फत निर्माण भइरहेको सडक तथा नालीमा चरम लापरवाही देखिएको हो ।

नाली निर्माण भएको ठाउँमा निर्माण कम्पनीले अहिलेसम्म पनि नाली चार्ने काम गरेको छैन । निर्माण गरिएको नाली पानी नपाएकै कारण फुट्न थलिसकेको छ । ढुङ्गा र सिमेन्टको चिनाइरहेको नालीको निर्माणको काम कमसल भएको स्थानीयवासीले बताएका छन् ।

नेपाल सरकारको स्मार्ट सिटीको गुरु योजनाअनुसार पहिलो चरणमा ब्लक नं ‘ए’ अन्तर्गतको टीकापुर बजार क्षेत्रमा नाली र सडकको काम शुरु भएको हो । सडक र नाली निर्माणको जिम्मा महालक्ष्मी एम.के.जेभीले पाएको छ ।  नौ करोड ५३ लाख ९६ हजार २९४ मा भ्याटसहितको सम्झौता भएको शहरी विकास धनगढीका दिनेश श्रेष्ठले बताए।

स्थानीय समाजसेवी तथा व्यवसायी ललितबहादुर थापा ‘शिव’ले पूर्वाधार निर्माणको काममा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले बजेट जुन सरकारको भए पनि स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने भन्दै अहिलेकै अवस्थामा स्मार्ट सिटीको परिकल्पनाअनुसार काम भए त्यसको औचित्य नरहने बताए ।

टीकापुर नगरपालिकाले भने सङ्घीय सरकारको काम भएको भन्दै निर्माणको काममा चासो देखाएको छैन । नगरपालिकाका योजाना शाखाप्रमुख इन्जिनीयर नवराज जोशीले सङ्घीय सरकारबाट अख्तियारी नआएकाले नगरपालिकाले औपचारिक रुपमा निरीक्षण नगरेको बताए ।

सडक निर्माण कम्पनीका ओभरसियर जयराम थापाले भने नाली दैनिक तीन पटक बिहान,दिउँसो र साँझ पाइपबाटै चार्ने काम भइरहेको बताउनुभयो । चालू आर्थिक वर्षको साउन महिनामा सम्झौता भएको हो, ओभरसियर थापाले भन्ने,नालीसहित करिब तीन हजार २०० मिटरको सडक,गार्डन,फुटपाट निर्माण गरिने भएको छ,१८ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

नगरपालिकाको ब्लक नं ‘ए’ अन्तर्गत मुख्य सडक बाहेकका ११ शाखा सडकको निर्माण गरिने भन्दै नाली भने सडकको पानीलाई निकासका लागि मात्रै निर्माण हुन लागेको थापाले बताए । नगरपालिकाले निर्माण गरेको पुरानो नालीभन्दा पनि नयाँ बन्न लागेको नालीको क्षेत्रफल कम देखिएको छ । अहिले बन्न लागेको नालीको क्षेत्रफल ४० सेन्टिमिटर चौडाइ र दुई फिट गहिराइको हुने बताइएको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया