सिमसारमा २० हजार माछाका भुरा छाडियो

४ बर्ष अगाडि

पर्यावरणीय स्वच्छता कायम राख्ने उद्देश्यले पश्चिम नवलपरासीस्थित बाउन्नघोला सिमसार क्षेत्रमा २० हजार माछाका भुरा हालिएको छ ।  

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको उक्त सिमसार क्षेत्रमा बर्दघाट नगरपालिकाको रु एक लाखको सहयोगमा माछाका भुरा हालिएको हो । बर्दघाट नगरपालिका–१० स्थित उक्त सिमसारमा केही समयपछि पुनः १० हजार माछाका भुरा थप्ने तयारी रहेको नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्यायले बताए।
 
“सिमसारलाई संरक्षण गर्दै व्यवस्थित गर्ने अभियानमा हामी लागिरहेका छौँ, नगरले यसलाई गौरवको योजनाको रूपमा अघि बढाएको छ, यहाँको पर्यावरण स्वच्छता राख्ने उद्देश्यले माछाका भुरा हालिएको हो, अझै १० हजार माछा केही महिनापछि थप्ने तयारी छ”, उनले भने। 

पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिका र स्थानीयवासीले पहल थालेका हुन् । पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रूपमा यो सिमसार क्षेत्रलाई विकास गर्ने गरी यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले विगत दुई वर्षदेखि यहाँको सिमसार प्रवद्र्धन गर्दै आएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए। “नगरपालिकाले यस क्षेत्रलाई गौरवको योजनामा समावेश गरी ठूलो लगानीमा विकास गर्न पहल थालेको हो, यहाँ अन्य संरचना निर्माणको काम पनि जारी छ”, उनले भने।

बर्दघाट नगरपालिका–१० स्थित संसारकोट सामुदायिक वन क्षेत्रभित्रको करीब २० हेक्टर क्षेत्रफलमा फैलिएको यो कृत्रिम सिमसार मनोरम, हरियाली वातावरणमा अवस्थित छ । यस सिमसार क्षेत्रलाई नगरपालिका र स्थानीय मिलेर प्रवद्र्धन गर्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको बर्दघाट–१० का वडाध्यक्ष राजु मिश्रले बताए। विगतमा यहाँ घनाजङ्गलको बीचमा ५२ घोला रहेकाले यस सिमसारको नाम बाउन्नघोला सिमसार क्षेत्र रहन गएको बताइन्छ । 

नगरपालिकाले गत वर्ष बाँध निर्माण गरेपछि १०० मिटर चौडाइ र ३०० मिटर लम्बाइमा करीब दुई मिटर पानी जम्मा भएको छ । यहाँ पर्यटक आकर्षणका लागि पोखरी बनाएर बीचमा भ्यूटावर राख्ने, पैदलमार्ग बनाउने, वनभोजस्थललाई विस्तार गर्नेलगायतका योजना अघि सारिएको छ । 

जङ्गल क्षेत्रमा रहेकाले यहाँको मनोरम हरियाली वातावरणमा रमाउन र वरपरको दृश्यावलोकनका लागि पर्यटक आकर्षित हुने नगरपालिकाको विश्वास छ । यस सिमसारको विकाससँगै भूमिगत जलको स्रोत, पर्यावरण संरक्षण, जलवायु परिवर्तन, भू–क्षय नियन्त्रणमा पनि टेवा पुग्ने भएकाले यो क्षेत्र उत्कृष्ट गन्तव्यस्थल हुने बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेलले बताए।

४ बर्ष अगाडि

प्रतिक्रिया