पुलको डिजाइनमा प्रविधिक समस्या देखापर्दा पुल निर्माण कार्य अलपत्र

४ बर्ष अगाडि

कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माणकार्य अलपत्र परेको छ । पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि निर्माणकार्य अलपत्र परेको हो ।

विसं २०७२ पुस २६ देखि शुरु भएको पुलको निर्माणकार्य एक वर्षदेखि ठप्प छ । देखतभुली–पर्सिया जोड्ने १७० मिटर लामो पक्की पुल विसं २०७५ पुस २६ गतेसम्म निर्माण सम्पन्न गरिनुपर्ने समय निर्धारण गरिएको थियो । फुटपाथसहित दुई लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठले परियोजनाको संयुक्त कार्यमा प्राविधिक समस्या औँल्याएपछि निर्माणकार्य ठप्प भएको छ ।

पुलको डिजाइनमा समस्या आएकाले पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए । पुलको डिजाइनमा समस्या रहेछ । निर्माण व्यवसायीले पुलको डिजाइन पुनरावलोकनको माग गर्दै पत्र दिएको छ ।

हिउँदमा काठे पुलको प्रयोग हुने गरेको भए पनि वर्षात्मा नदीमा पानीको बहाव उच्च हुने भएकाले यस क्षेत्रको आवतजावत ठप्प हुने गरेको छ । आकस्मिक समस्या परे स्थानीय बासिन्दाले वर्षाका बेला ज्यान जोखिममा राखेर दोदा नदी तर्नुपर्ने बाध्यता छ ।        

४ बर्ष अगाडि

प्रतिक्रिया