दाङमा रहेको हात्तीढुङ्गालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग

४ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ को ड्वाङपुरमा मा रहेको माटोको ढिस्केको माथिबाट हात्ती जस्तै देखिने ढुङ्गा हात्तीढुङ्गा अवलोकन गर्नका लागि अहिले आन्तरिक पर्यटक जाने गरेका छन् । धेरै वर्षदेखि माटोको ढिस्काको माथिबाट ढुङ्गा रहे पनि अहिलेसम्म जस्ताको तस्तै रहेको स्थानीयवासी बताउँछन् । 

गत वर्षबाट जिल्लाका विभिन्न ठाउँबाट पर्यटक आउने गरेको स्थानीय ४६ वर्षीय पूर्णबहादुर चौधरीले सदस्य चौधरीले बताए । उनले भने, “हामी सानामा यहाँ गाई बाख्रा चढाउन आउँथ्यौँ, पहिले जस्तो थियो अहिले पनि उस्तै छ यसका बारेमा अब खोजी गरिनुपर्छ ।” 

चौधरीका अनुसार अहिले दैनिक  १५ देखि २० जनासम्म यसको अवलोकन गर्न आउँछन् । कुनै शनिबार र बिदाका दिनमा त धेरै जना आउँछन् । अब यसलाई संरक्षण गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सबै लाग्नुपर्छ । यसले यस क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा पनि सहयोग पुग्ने उनको विश्वास  छ ।
 
सोही ठाउँकी ४० वर्षीया अष्टुमी चौधरीले पनि अहिले ढाढाबाट ढुङ्गा हेर्नका लागि  आफ्नो गाउँमा नयाँनयाँ मानिस आउँदा खुशी लागेको बताइन । उनले भनिन, ‘‘अब हामी स्थानीयले  पनि त्यसलाई संरक्षण गर्नुपर्छ भनी अभियान शुरु गरिसकेका छौँ । यसरी सधैँ नयाँनयाँ मानिस यहाँ आएपछि अब हामीले उत्पादन गरेका तरकारी, तोरी, चना, घरबाटै पनि बिक्री हुनेछन् ।’’ 

हात्तीढुङ्गाको अवलोकन गर्न शनिबार पुग्नुभएकी तुलसीपुर उपमहानगरपालिका–६ की २५ वर्षीया उर्मिला ढकालले भनिन, ‘‘आफूले धेरै वर्षदेखि त्यहाँ माटोको ढिस्कामाथि ठूलो ढुङ्गा रहेको भन्ने सुनेकी थिएँ । आज श्रीमान्सँगै गएर अवलोकन गर्दा आफू अचम्म परेँ ।’’ 
 
सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा यस्ता लुकेका सम्पदा र रमणीय स्थलको खोजी गरिनुपर्ने उनको सुझाव छ । तुलसीपुर उपमहानगरपालिका–१४ का वडाध्यक्ष पर्शुराम चौधरीले धेरै वर्षदेखि अलपत्र अवस्थामा रहेको हात्तीढुङ्गाको संरक्षणमा स्थानीय सरकार र यहाँका नागरिकको सक्रियता बढिरहेको बताए ।

उनले हात्तीढुङ्गासँगै विभिन्न ऐतिहासिक र पौराणिक कुरा जोडिएको भन्दै त्यसको खोज र अनुसन्धान गरिनुुपर्ने बताए । उनले पछिल्लो समयमा यहाँका नागरिक पनि यसको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि सक्रिय भएका छन् ।

स्थानीयवासी बलबहादुर विक अध्यक्ष रहेको संरक्षण समिति पनि गठन गरिसकेका छन् वडाध्यक्ष चौधरीले बताए । उनले यसको संरक्षण र पर्यटकीयरुपमा वडाबाट पनि बजेट केही खर्च गरिने तर यो पर्याप्त हँुदैन   तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारबाट पनि यसका लागि बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।
 
हात्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष बलबहादुर विकले सो क्षेत्रमा शौचालय, खानेपानी, तारबार चिया पसललगायतका पूर्वाधार निर्माण गर्न अति आवश्यक रहेको बताए । उनले अहिले पर्यटक दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हात्तीढुङ्गालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि गुरुयोजना बनाउने बताए ।

पर्यटनको राम्रो सम्भावना रहेको भन्दै सबै पक्षबाट सहयोग जुटाएर बृहत् योजना बनाउने शनिबार सोको अवलोकन गर्न पुग्नुभएका नगर प्रमुख घनश्याम पाण्डेले भने । उक्त स्थानको अवलोकन गर्दै नगर प्रमुख पाण्डेले ढुङ्गा माटोको ढिस्कोमा अडिनुका कारण पत्ता लगाउन भूगर्भविद्मार्फत अध्ययन गराइने बताए । 
 
नगरप्रमुख पाण्डेले सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेका बेला सोही भ्रमण वर्षलाई सफल तथा सार्थक गराउन तुलसीपुर उपमहानगरपालिकाले पनि यहाँका पर्यटकीय केन्द्रलाई दृष्टिगत गरी ‘घुम्न जाऔँ तुलसीपुर अभियान’ को तयारी गरेको बताए । तुलसीपुर बजारदेखि करीब १६ किमी दक्षिणतर्फ पर्ने सो स्थानसम्म पुग्न मोटरबाटोसमेत रहेको छ गाउँ नजिकै जङ्गल तथा चुरेको फेदमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया