नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ३४ हजार लाभान्वित

सोमबार, ०७ पुस २०७६, १० : १२

नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क शल्यचिकित्सासहितको स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । 
 गत मङ्सिर २७ गतेदेखि आइतबारसम्म शिविर सञ्चालन भएको थियो ।

 खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविर समापन समारोहमा नेपाली सेनाका सहायक रथि डा देवेन्द्रबहादुर खत्रीले उपचार सेवा लिनेमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुष रहेका र दुई हजार ३५ ले परामर्श सेवा लिएका जानकारी दिए । 


  शिविरमा १९३ पुरुष र १३६ महिला गरी ३२९ जनाको जटिल शल्यक्रिया भएको ,  रु ६० लाख मूल्य बराबरको औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइएको  थियो । शिविरका सूचना अधिकारी सेनानि नवीन कुँवरले शिविरमा सेवा लिन आउने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएको वताए । 

  समापन समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत नेपाली सेनाले  ग्रामीण विपन्न वर्गका जनतालाई  घर आगमनमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए  ।   शिविरमा नेपाली सेनाका ६० जना दक्ष विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी नर्स, पारामेडिकल र ल्याब टेक्निसियन सहित १६५ जनाको टोलीले उपचार सेवा प्रदान गर्नुभएको थियो  ।


 शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार सेवा प्राप्त गर्नुभएको थियो ।  कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव र प्रदेशसभा–२ का सदस्य कौशलकुमार यादवले सेनाले दिएको सेवाको प्रशंसा गर्नुभएको थियो । 
 

सोमबार, ०७ पुस २०७६, १० : १२

प्रतिक्रिया