म्यान्माका पर्यटनमन्त्री अन मोङले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि म्यान्मा सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताएका छन ।
लुम्बिनीको अवलोकन भ्रमणपछि आज यहाँ आयोजित छलफलमा उनले नेपाल भ्रमण वर्षका अवसरमा आफ्नो देशका ट्राभल एजेन्सीलाई लुम्बिनीको भ्रमण गराएर टुर प्याकेज तयार पार्न आग्रह गर्ने बताए ।
बुद्धको जन्मस्थल भएका कारण लुम्बिनी म्यान्माका नागरिकको आस्थाको केन्द्र भएको चर्चा गर्दै पर्यटनमन्त्री मोङले म्यान्माका नागरिक लुम्बिनी आउन उत्सुक रहेको जानकारी दिए ।
नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा काठमाडौँ आएका पर्र्यटनमन्त्री मोङसहित कम्बोडियाका पर्यटन मन्त्रालयका सल्लाहकार सेइल हुल, भुटानका पर्यटन परिषद्का महानिर्देशक दोर्जे ध्रधुलसहित नौ जना उच्चस्तरीय सरकारी अधिकारीको टोली लुम्बिनी आएका थिए ।
नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै लुम्बिनी आउनुभएको पर्यटनमन्त्री मोङसहितको टोलीलाई प्रदेश नं। ५ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले ढाका टोपी लगाइदिएर स्वागत गरेका थिए ।
यस्तै लुम्बिनी विकास कोषका तर्फबाट निमित्त सदस्य सचिव सरोज भट्टराईसहित कोषका कर्मचारीले स्वागत गरेका थिए ।
सो अवसरमा मन्त्री गिरीले म्यान्मा र लुम्बिनीको साँस्कृतिक र धार्मिक सम्बन्ध रहेकाले पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
उनले पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको जानकारी गराए ।म्यान्माका मन्त्री मोङ, मन्त्री गिरी तथा अन्य उच्चस्तरीय सरकारी अधिकारीले मायादेवी मन्दिरको दर्शन गरी बोधिवृक्ष परिसरमा बुद्ध पूजा गरेका थिए।
पर्यटनमन्त्री मोङले लुम्बिनी विकास कोषको गुरुयोजनाबारे चासो राखेका थिए । उनीसहित उच्चस्तरीय सरकारी अधिकारीको टोलीलाई लुम्बिनी विकास कोषको गुरुयोजना र भइरहेका कामबारे जानकारी गराउँदै जनसम्पर्क अधिकृत हरिध्वज राईले तीन वर्षभित्रमा गुरुयोजना पूरा गर्ने लक्ष्य रहेको बताए।
प्रतिक्रिया